सल्यान, ७ भदौँ ।
सल्यानको शारदा नगरपालिका–४ मा उमेर पुगेका तर नागरिकतामा कम उमेर भएका कारण सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित भएका ज्येष्ठ नागरिकलाई भत्ता वितरण गर्न थालिएको छ ।
सरकारले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । भत्ता पाउने उमेर पुगेका तर नागरिकता अनुसार कम उमेर भएका कारण भत्ता पाउनबाट बञ्चित ज्येष्ठ नागरिकलाई भने वडाले नै भत्ता दिन थालेको हो । भत्ता पाउनबाट बञ्चित रहेका त्यस्ता नागरिकलाई मासिक एक हजार रुपैयाँ वडाले भत्ता दिन थालेको हो ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमार्फत विजयी भएर आएपछि जनप्रतिनिधिले यस्तो व्यवस्था गरेका हुन् । अहिले यस वडाको मनपुरका ज्येष्ठ नागरिक दुर्गाबहादुर विष्टले सामाजिक सुरक्षा भत्ता वापत मासिक एक हजार रुपैयाँ पाउँदै आउनुभएको छ । उहाँलाई गत आर्थिक वर्ष २०७९/०८० को सबै किस्ता उपलब्ध गराइएको छ ।
विष्टको वास्तविक जन्ममिति वि.सं. २००४ साल हो । तर नागरिकतामा २०१२ साल राखिएको छ । उमेर पुगेको तर नागरिकतामा उमेर घटाएका कारण सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित भएका बिष्टलाई व्यक्तिगतरुपमा मासिक एक हजार रुपैयाँका दरले आफ्नो तर्फबाट भत्ता उपलब्ध गराउँदै आएको वडाअध्यक्ष किशोरकुमार हमालले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकतामा भएको जन्ममितिले आउने चैतदेखि मात्रै विष्ट सामाजिक सुरक्षा भत्ता पाउन योग्य हुनुहुनेछ ।
राज्यले दिने सुविधा उपभोग नगरुन्जेलसम्मको लागि आफुले व्यक्तिगतरुपमा भत्ता उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ । ‘ज्येष्ठ नागरिकलाई खुशी पार्ने र सम्मान गर्ने हेतुका साथ राज्यले दिने बृद्धभत्ताको २५ प्रतिशत मैले व्यक्तिगत रुपमा दिदै आएको छु, यसले ज्येष्ठ नागरिकको मुहारमा खुशी छाएको छ’– उहाँले भन्नुभयो ।
वडाअध्यक्ष हमालले यस वडामा नागरिकतामा भएको उमेरकै कारण भत्ता पाउनबाट बञ्चित अर्का एक व्यक्तिलाई पनि सामाजिक सुरक्षाभत्ता दिने तयारी थालिएको बताउनुभयो । ‘सम्बन्धित व्यक्तिको घरमै गएर रकम हस्तान्तरण गर्दै आएको छु’– उहाँले भन्नुभयो– ‘वडामा केही नयाँ गरौं, सबै नागरिकलाई सुखी र खुशी बनाऔं भनेर यो अभियान थालेको हुँ ।’ उहाँले वडाको समृद्धि र विकासका लागि आफूले काम गर्दै आएको बताउनुभयो ।