बिद्यार्थीको भविष्यमाथि बागचौरमा खेलाँची : ‘बिद्यालयमा शिक्षक छैनन्, बिद्यार्थीले लगाए ताल्चा’

‘नगरपालिकाले शिक्षामा राजनिति ग¥यो, बिद्यार्थीको भविष्यमाथि खेलवाड ग¥यो, हाम्रो बिद्यालयमा भएका ६ जना शिक्षकलाइ एकैपटक हटायो, ५ जना शिक्षक पठाउँछु भनेको डेढ महिना भयो, तर अझै शिक्षक पठाउन सकेको छैन्, शिक्षक नहुदा पठनपाठन प्रभावित भएको छ, नपढेरै एसईई कसरी दिने ?’ उहाँले भन्नुभयो ‘सामाजिक बिषय बाहेक अरु कुनै पनि बिषयको पढाइ भएको छैन् ।’

सल्यान, १२ भदौँ ।
बिद्यालयमा शिक्षक नहुदा पठनपाठन प्रभावित भएको भन्दै सल्यानको बागचौर नगरपालिका भित्रका बिद्यालय धमाधम तालाबन्दी गएको छ । करिब डेढ महिनादेखी बिद्यालयमा शिक्षक नहुदा पठनपाठन प्रभावित भएको भन्दै तत्काल शिक्षकको व्यवस्था हुनुपर्ने माग राखेर बिद्यालयमा अध्ययनरत बिद्यार्थीले बिद्यालयमा तालाबन्दी गरेका हुन् । विगत केही दिनयता बिद्यार्थीले एकपछि अर्को बिद्यालयमा तालाबन्दी गर्दै आएका छन् ।

सोमबार मात्रै अम्मरज्योती माद्यामिक बिद्यालय चौरपानी र शिशुकल्याण माद्यामिक बिद्यालय हारिचारमा बिद्यार्थीले तालाबन्दी गरे । त्यसको अघिल्लो दिन आइतवार सरस्वती माद्यामिक बिद्यालय जामुनेचौरमा बिद्यार्थीले तालाबन्दी गरे । बालकन्या माध्यामिक विद्यालय टाट्केमा शिक्षक नहुँदा पठनपाठन अवरुद्ध भएको भन्दै विद्यार्थीले भदौँ ४ गते विद्यालय तालाबन्दी गरेका थिए । यस्तै शहिद भरत स्मृति माद्यामिक बिद्यालय शिर्पामा शिक्षकको अभावमा बिद्यालय बन्द गरिएको छ ।

बागचौर नगरपालिकामा रहेका अघिल्लो नगरसरकारले राखेका नगरअनुदानका शिक्षकलाई हटाएपछि नयाँ राख्न ढिलाई भएको र जसका कारण पठनपाठन प्रभावित भएको भन्दै बिद्यार्थीले बिद्यालयमा ताला लगाएका हुन् । सरस्वती माद्यामिक बिद्यालय जामुनेचौरमा कक्षा १० मा अध्ययनरत दुर्गाराम वलीले विगत डेढ महिनादेखी पठनपाठन अवरुद्ध हुदा बाध्य भएर बिद्यालयमा ताल्चा लगाउनुपरेको बताउनुभयो ।

‘हाम्रो भविष्यमाथि खेलवाड भयो, हाम्रो बिद्यालयमा भएका ६ जना शिक्षकलाइ एकैपटक हटायो, ५ जना शिक्षक पठाउँछु भनेको डेढ महिना भयो, तर अझै शिक्षक पठाउन सकेको छैन्, शिक्षक नहुदा पठनपाठन प्रभावित भएको छ, नपढेरै एसईई कसरी दिने ?’ उहाँले भन्नुभयो ‘सामाजिक बिषय बाहेक अरु कुनै पनि बिषयको पढाइ भएको छैन् ।’

शिशुकल्याण माद्यामिक बिद्यालय हारिचारमा कक्षा १० मा अध्ययनरत मधुसुधन वलीले अंग्रेजी र गणित बाहेक अरु कुनै पनि बिषयको पढाइ डेढ महिना देखी नभएको बताउनुभयो । ‘हाम्रो बिद्यालयमा एक बर्षदेखी सामाजिक बिषयको सर हुनुहुदैन्, अंग्रेजी र गणित बाहेक अरु बिषयमा प्राविमा पढाउने सरले बेला बखतमा कक्षा लिनुहुन्छ’ उहाँले भन्नुभयो ‘एसईई दिने बिद्यार्थीले यस्तो पढाइबाट कसरी पास गर्ने ? त्यही भएर बिद्यालयमा तालाबन्दी गरेका हौँ ।’

शिक्षक नहुदा बिद्यार्थीको पढाइ अस्तव्यस्त

बिद्यालयमा पर्याप्त शिक्षक नहुदा बिद्यार्थीहरुको पढाइ अस्तव्यस्त बनेको छ । दरबन्दी अनुसारको शिक्षक नभएर समस्यामा परेका बिद्यार्थी नगरअनुदानका शिक्षक पनि कटौती हुदा थप समस्यामा परेका हुन् । सरस्वती माद्यामिक बिद्यालय जामुनेचौरका प्रधानाध्यापक धनविर वलीले नगर अनुदान र निजी स्रोतमा रहेका ६ जना शिक्षक एकैपटक कटौती हुदा समस्या भएको बताउनुभयो ।

‘बिद्यार्थीले बिषयगत शिक्षकको माग गरिरहेका छन्, हामीले शिक्षक आपुर्ती गर्नसक्ने अवस्था भएन्, असार महिनामा ६ जना शिक्षक एकैपटक हटाइएपछि समस्या भएको हो, नयाँ ५ जना शिक्षक आउने कुरा हो, तर अहिलेसम्म आएका छैनन्, नियमित पढाइ नभएकै कारण बिद्यार्थीले आइतवार बिद्यालयमा ताल्चा लगाए’ उहाँले भन्नुभयो ‘सोमबार बिद्यार्थी र अभिभावकसँग छलफल गरेका हौँ, तर शिक्षक नहुदा सम्म ताल्चा नखोल्ने बिद्यार्थीले अडान राखेका छन् ।’

सरस्वति माद्यामिक बिद्यालय पेदीखोलाका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृति बहादुर पुनले नगरअनुदानका शिक्षक हटाइएपछि यस बिद्यालयको पठनपाठन पनि प्रभावित भएको बताउनुभयो । ‘मावि तर्फ गणित, नेपाली र सामाजिक तथा निमाविमा बिज्ञान बिषयको शिक्षक असारमा हटाइए, उनीहरुले पुनः नगरअनुदानको शिक्षकमा परिक्षा दिए, तर चारै जनाको नाम निस्केन्’ उहाँले भन्नुभयो ‘डेढ महिनासम्म शिक्षक भर्ना गर्न नसक्नु शिक्षामा राजनिति भएको मान्न सकिन्छ ।’

शिक्षक छनौटमा नगरपालिकाको ढिलासुस्ती

बागचौर नगरपालिकामा ६८ वटा सामुदायिक बिद्यालय छन् । नगरपालिकाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० वमोजिम नगरअनुदानमा साउन ५ गते एक सय २५ जना शिक्षकको बिज्ञापन खोल्यो । बालविकास सहजकर्ता १३ जना, प्रावि तह (१–५) ६५ जना, आधारभूत तह (६–८) २९ जना र मावि तहमा १८ जनाको माग गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अघिल्लो नगरसरकारले नियुक्त गरेका ६८ जना नगरअनुदानका शिक्षक असार महिनामा एकैपटक हटाएको थियो । नयाँ शिक्षक नियुक्तिका लागि प्रथम पत्रको परिक्षा सञ्चालन गरिए पनि बाँकी परिक्षा सञ्चालन गरेर छिटोभन्दाछिटो शिक्षक भर्ना गर्ने कार्यमा नगरपालिकाले ढिलासुस्ती गरेको छ ।

नगरपालिकाका सुचना अधिकारी तिर्थ राज डाँगीले अव चाँडै नयाँ शिक्षक छनौट गरिने बताउनुभयो । शिक्षकको परिक्षा केन्द्र तोकिएको थारमारे क्याम्पसमा क्याम्पसका बिद्यार्थीको परिक्षा सञ्चालन भएकाले केही ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले अवको केही दिनमा दोस्रो पत्रको परिक्षा पनि सञ्चालन गरिने बताउनुभयो । ‘दरबन्दी अनुसारका शिक्षक माथिबाट नै नपठाउदा समस्या भएको हो, नगरपालिका शिक्षक भर्नाको प्रक्रियामा छ’ उहाँले भन्नुभयो ‘शिक्षक बिद्यालयमा पुग्न केही दिन लाग्छ, बिद्यार्थी आत्तिएर बिद्यालयमा तालाबन्दी गरेका छन् ।’

वडा कार्यालयमा पनि बिद्यार्थीको तालाबन्दी

तत्कालै बिषयगत शिक्षकको माग गर्दै बिद्यार्थीहरुले बागचौर नगरपालिका–११ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सोही वडाको शिशुकल्याण माद्यामिक बिद्यालय हारिचारमा अध्ययनरत बिद्यार्थीले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । बिद्यालयमा नयाँ शिक्षक नआउदाँसम्म र पठनपाठन प्रभावकारी नहुदा सम्म तालाबन्दी जारी रहने बिद्यार्थीले जनाएका छन् ।

वडाअध्यक्ष केश बहादुर भण्डारीले शिक्षकको माग गर्दै बिद्यार्थीले वडा कार्यालयमा तालाबन्दी गरेको बताउनुभएको छ । ‘मेयरसाप काठमाण्डौँमा हुनुहुन्छ, हाकिमसावको सरुवा हुदैँछ रे, त्यही भएर शिक्षक छनौटमा ढिलाइ भएको बुझिएको छ’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित