सल्यान, १५ भदौँ ।
“पुस्तौँ पुस्ताका लागि पुस्तकालय” भन्ने नाराका साथ सल्यानमा १६ औँ राष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाइएको छ । जिल्लामा साक्षरता कार्यक्रम लागु भएका र हस्तान्तरण भएका तथा अरु बिद्यालय गरि १ सय २२ वटा बिद्यालयमा शुक्रवार पुस्तकालय दिवस मनाइएको रुम टु रिडका कार्यक्रम सहायक तपेन्द्र ओलीले जानकारी दिनुभएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका, सिद्धकुमाख गाउँपालिका, बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कपुरकोट गाउँपालिकाका सँगै अन्य पालिकाका बिद्यालयमाहरुमा सबै छोडौँ पुस्तक पढौँ, पठन गति प्रतियोगिता, वक्तृत्वकला, कथा वाचन, कथा समिक्षा, कथा लेखन, अनलाइन पुस्तकालयबाट किताब पठन जस्ता क्रियाकलापहरु सम्पन्न भएका छन् ।
दार्मा गाउँपालिकामा रहेका दुई वटा विद्यालयमा बाल पुस्तकालयहरु उद्घाटन भएका छन् । दार्मा गाउँपालिका, रुम टु रिड र दलित बिकास समाजको सहकार्यमा नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय दार्माकोट र नवसर्वसाधारण माद्यामिक बिद्यालय रातामाटामा बाल पुस्तकालय उद्घाटन गरिएको रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो ।
सो अवसरमा दार्मा गाउँपालिका–३ का वडाअध्यक्ष टंक वलीले बाल पुस्तकालयले बालबालिकाको शिर्जनशिलता, तार्किक र बौद्धिक शक्तिको वृद्धि हुने बताउनुभयो ।
बालबालिकाहरुको पढ्ने सीप र बानीको विकास गर्न अभिवृद्धि गराउन, बालबालिकाको इच्छा, रुची र क्षमताका पुस्तकहरुमा पहुँच वृद्धि गर्न तथा पुस्तकालय दिवस मार्फत बालबालिकाहरुको पठन संस्कृतिको अभिवृद्धि गराउने उद्धेश्यले पुस्तकालय दिवस मनाइएको हो । जसमा शारदा नगरपालिका–६ को बालशखा माद्यामिक बिद्यालयमा पठन गति प्रतियोगिता, कथा लेखन प्रतियोगिता र कथा पठन गरिएको शिक्षक प्रबिना बुढाथोकीले जानकारी दिनुभयो ।
जसमा कक्षा २ मा पढ्ने दिपिशखा बुढाथोकीले पठन गति प्रतियोगितामा ५५ सेकेन्डमा ४१ शब्दको पाठ पढ्न सफल हुनुभएको छ ।