बगैँचामा गुलाबी रोगको प्रकोप : सुन्तला उत्पादनमा ह्रास आउने आँकलन

‘शुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने तर पछि विस्तारै रोगले ग्रसित हुँदै जान्छ, वर्षा सकिएपछि विस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जान्छ र पछि सुक्दै जान्छन्, यसलाई बेलैमा उपचार गरे नियन्त्रण गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘किसानलाई आवश्यक तालिम दिएर रोग नियन्त्रणका लागि विषादी वितरण तथा प्रयोगको विषयमा बगैँचामै पुगेर जानकारी दिएका छौँ ।’

सल्यान, १७ भदौँ ।

सल्यानको बागचौर नगरपालिका–८ कोटमौलाका भरतनाथ योगीले ४२ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँसँग अहिले ९ सय ५० सुन्तलाका बोट छन् । २०७६ सालमा सुन्तला बेचेर नै ३४ लाख २५ हजार रुपैँया आम्दानी गर्नुभएका उहाँले गएको सिजनमा २७ लाख रुपैँया आम्दानी गर्नुभयो । सुन्तला खेती गर्ने अगुवा कृषकका रुपमा चिनिनुभएका उहाँको बगैँचामा रहेका सुन्तलाका बोटका हाँगा अहिले सुक्न थालेका छन् ।

विगतमा यस्तो समस्या नदेखिए पनि एक्कासी सुन्तलाका हाँगा सुक्न थालेपछि उहाँलाई अहिले बगैँचा नै खाली हुने कि भन्ने चिन्ता छ । ‘यसपाली बर्खामा धेरै पानी प¥यो, ढुसीका कारण प्रत्येक सुन्तलाका बोटका हाँगा सुकेका छन्, लटरम्म फलेका हाँगा सकेपछि काटेर फाल्नु बाहेक अरु विकल्प छैन्’ उहाँले भन्नुभयो ‘हाम्रो आम्दानीको स्रोत नै सुन्तला हो, एक्कासी रोगले हाँगा सुक्न थालेपछि समस्या भएको छ ।’

बागचौर नगरपालिका–९ कोटमौलाका टोप बहादुर डाँगीले पनि व्यवसायिक सुन्तला खेती गर्न थालेको करिब २० बर्षभयो । आफ्नो बगैँचामा सुन्तलाका ४ सय बोट रोप्नुभएका उहाँले गत सिजनमा सुन्तला बेचेर नै १६ लाख रुपैँया आम्दानी गर्नुभयो । तर अहिले आधा भन्दा बढी सुन्तलाका बोटका हाँका सुकेको उहाँको भनाइ छ ।

उहाँले विगतमा सुन्तलामा यस्तो समस्या नभएको बताउनुभयो । ‘पहिले सुन्तलामा महामारीको रुपमा यस्तो समस्या थिएन्, यस बर्ष देखिएको हो, हाँका सुक्दै छन्, हामीले काट्दै फाल्दै गरेका छौँ, नियन्त्रणमा आएको छैन्’ उहाँले भन्नुभयो ‘खेतीपाती भनेकै सुन्तला हो, दाना लागेको हाँगा सुक्न थालेपछि समस्या भएको छ ।’ अहिले सुन्तलाका पात पहेँलो हुने, बोक्रा सुक्ने र पछि बोट नै सुक्ने रोग देखिएको छ ।

कोटमौला क्षेत्रका सबै सुन्तला खेतीमा यो रोग देखिएको छ । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको बागचौर नगरपालिका–८ र ९ कोटमौलामा लगाइएको सुन्तलाखेतीमा रोगको प्रकोप देखिएपछि किसान समस्यामा परेका छन् । कोटमौलामा मात्रै एक सय बढी सुन्तलाका बोट भएका किसान करिब तीन सय छन् । कोटमौला क्षेत्रका सबै सुन्तलाका बोटमा रोग देखिएको छ ।

सुन्तलामा देखिएको रोगका कारण करिब १० प्रतिशत क्षति गरेको कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेशम कुमार बस्नेतले बताउनुभयो । उहाँले अहिले सुरुवात चरण भएकाले समग्रमा करिब १० प्रतिशत सुन्तलामा क्षति पुगेको बताउनुभयो । ‘सुन्तलाका दाना लागेका हाँगा सुकेका छन्, केही सुन्तलाका त बोट नै काटेर फाल्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो ‘रोगका कारण हाँगा सुकेका छन्, यसले उत्पादनमा ह्रास ल्याउने छ ।’

सुन्तलामा गुलाबी रोग लागेको पुष्टि

सुन्तलामा रोग देखिएको किसानले जानकारी दिएपछि किसानको समस्या समाधान गर्न एकीकृत प्रयोगशाला सुर्खेतको विज्ञसहित कृषि विकास कार्यालय सल्यानको प्राविधिक टोली कोटमौलाको सुन्तला बगैँचामा पुग्यो । टोलीले सुन्तलामा लागेको रोग पत्ता लगाउन हाँका, पात आदीको नमुना संकलन गरेर राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार पठायो । नमूना परीक्षण गर्दा सुन्तलामा गुलाबी रोग अर्थात पिंक डिजिज लागेको पुष्टि भएको छ ।

रोग पुष्टि भएसँगै सुन्तला बगैँचामा पुगेर एकीकृत उपचारको काम सुरुवात गरिएको छ । एकीकृत प्रयोगशाला सुर्खेतका प्रमुख पर्शुराम रावतले बढी ओसिलो र न्यानो वातावरण भएको असार देखी भदौसम्म सुन्तलाका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने र ‘कपर अक्सिक्लोराइडयुक्त’ विषादी प्रयोग गरेर यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।

‘शुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने तर पछि विस्तारै रोगले ग्रसित हुँदै जान्छ, वर्षा सकिएपछि विस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जान्छ र पछि सुक्दै जान्छन्, यसलाई बेलैमा उपचार गरे नियन्त्रण गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘किसानलाई आवश्यक तालिम दिएर रोग नियन्त्रणका लागि विषादी वितरण तथा प्रयोगको विषयमा बगैँचामै पुगेर जानकारी दिएका छौँ ।’

बिषादी प्रयोगसँगै यसको काँटछाँट गर्नुपर्ने, मुख्य काण्डमा चुना लगाउने, बिषादीको डोज मिलाएर १० देखी १२ दिनको विचमा तीन पटक छर्कनु पर्ने र सबै किसानलाई समेटेर अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लाको कोटमौला, कोटबारा, दमाचौर, लेखपोखरा, चाँदे, फलावांङ्ग, कजेरी, सेजवालटाकुरा लगाएत जिल्लाभर गरेर ९८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ ।

जिल्लाको पहिचानको रूपमा रहेको सुन्तला खेतीमा देखिएको समस्या समाधान गर्न सुन्तला बगैँचा सुदृढीकरण अभियान तथा बगैँचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्माले बताउनुभयो । किसानसँग सरकार कार्यक्रम अन्तर्गत हरेक किसानसँग सहकार्य गर्न र समस्याको समाधानका लागि किसान सँगै सरकार लागि परेको उहाँको भनाइ छ ।

गएको सिजनमा जिल्लाबाट ८ हजार ३७६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने कृषकले २८ करोड रुपैँया जिल्लामा भिञ्याएका थिए । सल्यानमा उत्पादित सुन्तला मध्ये करिब ६० प्रतिशत सुन्तला काठमाडौं, नेपालगन्ज, बुटवल, दाङ मात्र नभई भारतको लखनउ सम्म पुग्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित