‘मन्त्रीकै जिल्लाका बिद्यार्थी तुइन चढेर बिद्यालय जान्छन्’

सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माको गृह जिल्लाका नागरिक अझै तुइन चढ्छन् भन्दा अनौठो लाग्न सक्छ । तर यो वास्तविकता हो ।

सल्यान, १९ भदौँ ।

सरकारले २०७२ सालमा दुई वर्षभित्र देशभरका तुइन विस्थापन गर्ने घोषणा ग¥यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सबै तुइन विस्थापन गर्ने उद्घोष गरेको आठ वर्ष पुगे पनि ग्रामीण भेगमा तुइन विस्थापन हुन सकेका छैनन् ।

नदी तथा खोलामा पुल बन्ने र सहज यात्रा गर्ने आशमा बसेका नागरिकले बरु आफ्नो सहजताका लागि तुइन निर्माण गरेका छन् । यसको उदाहरण हो सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२ कुनिकका स्थानीयले आफ्नै लगानीमा भेरी नदीमा निर्माण गरेको तुइन । सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माको गृह जिल्लाका नागरिक अझै तुइन चढ्छन् भन्दा अनौठो लाग्न सक्छ । तर यो वास्तविकता हो ।

झोलुंगे पुल निर्माणका लागि बारम्बार माग राख्दै आए पनि कसैले चासो नदेखाएपछि स्थानीयले आफ्नै लगानीमा भेरी नदीमा पुलको विकल्पका रुपमा झण्डै दुई महिनाअघि तुइन निर्माण गरेका हुन् । तुइन निर्माणमा ५० हजार रुपैयाँ बढी खर्च भएको छ । जसमा बनगाड कुपिण्डे नगरपालिका–२ का अध्यक्ष मानबहादुर खत्रीले १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो भने बाँकी स्थानीयले नै खर्च व्यहोरेका छन् । विगतमा यहाँ बाक्लो मानव वस्ती थियो । तर विकास निर्माणका काम नहुनु, शिक्षा, स्वास्थ्यमा पहुँच नपुग्नु र जोखिम मोलेर भेरी नदी वारपार गर्नुपर्ने भएपछि यहाँका केही स्थानीय बसाइ सरेका छन् ।

पुल नहुँदा विगतमा गाडीको ट्युब प्रयोग गरी भेरी नदी वारपार गर्न बाध्य हुँदै आएका स्थानीयलाई तुइन निर्माण भएपछि केही राहत भएको छ तर जोखिम पनि उत्तिकै रहेको छ । बर्खाको समय उर्लदो भेरी नदी, नदी माथि झोलुंगे पुलको लहरा र त्यो पनि एउटा डोरीको सहायताले बनाएको तुइन, हरेक दिन यहाँका स्थानीय र विद्यार्थीहरु यही तुइनको सहारामा नदी वारपार गर्न बाध्य छन् ।

दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न, बालबालिकालाई विद्यालय जान र बिरामीलाई उपचारका लागि अस्पताल लैजान समस्या भएपछि रकम उठाएर तुइन निर्माण गरिएको स्थानीय मानबहादुर घर्तीले जानकारी दिनुभयो । ‘हरेक दिन विद्यार्थी र स्थानीयलाई तुइनमा वारपार गराउँदै आएको छु, तुइनले सहज बनाएको छ तर झोलुंगे पुलको लहरामा ग्रिस लगााएर सानो डन्डीमा अड्याएको सानो चक्का कति बेला चँुडिने हो थाहा छैन, यात्रा जोखिमपुर्ण छ’– उहाँले भन्नुभयो । भेरीमा निर्माण गरेको तुइनको लम्बाई एक सय २५ मिटर छ ।

‘विद्यार्थीलाई हाम्रै वडाको विद्यालय जान तीन घण्टा हिड्न समय लाग्छ, जंगलबाट जान जंगली जनावरको डर छ, त्यही भएर हामीले नदी वारपार गर्न तुइन बनाएका हौं, अहिले तुइन चढेर विद्यार्थी एक घण्टाको दूरीमा रहेको छेडागाड हुँदै भेरी नगरपालिकाको घुरचौरमा पढ्न जान्छन्, तुइनमा जोखिम छ, डर लाग्छ तर पनि हामीलाई बाध्यता छ’– उहाँले भन्नुभयो– ‘भोट माग्न आउने सबै नेतासँग झोलुंगे पुल माग गरेका हौं, हामीले माग्ने मात्रै भयो, पुल बनेन ।’

यहाँका ६ जना विद्यार्थी यही तुइन तरेर एक घण्टा टाढा रहेको जाजरकोटको भेरी नगरपालिकामा रहेको माध्यमिक विद्यालय घुरचौरमा पढ्न जाने गरेको कक्षा ७ मा अध्ययनरत विद्यार्थी दीपेन्द्र घर्तीले बताउनुभयो । ‘हामी हरेक दिन बिहान तुइन चढेर विद्यालय जान्छौं, तुइन चढेर घर फर्किन्छौं, डर लाग्छ लरी चुडिन्छ कि भनेर तर पनि तुइन चढ्नुपर्ने बाध्यता छ’– उहाँले भन्नुभयो– ‘हाम्रै वडामा भएको विद्यालयमा जान तीन घण्टा लाग्छ, त्यही भएर तुइनबाट छिमेकी जिल्लामा पढ्न जान्छौं ।’ विद्यालय उमेरका १० जना बालबालिका भए पनि तुइन जोखिमको कारण छ जना मात्रै विद्यालयमा जान्छन् ।

कुनै बेला गाडीको ट्युवको भरमा भेरी नदी तर्ने स्थानीय अहिले आफैले तुइन निर्माण गरी यसैबाट वारपार गर्ने गरेको स्थानीय गोपिलाल शर्माले बताउनुभयो । विगतदेखि नै चुनावताका भोट माग्न पुगेका दलका नेताले विभिन्न आश्वासन दिदै आए पनि पुल निर्माणमा कसैको ध्यान जान नसकेको उहाँको भनाइ छ । अहिले सल्यान र जाजरकोटका दैनिक १०/१५ जनाले तुइनको प्रयोग गर्दै आएका छन् । नागरिकका सवालमा सरकार गम्भीर बन्न नसक्दा सास्ती खेप्नुपरेको उहाँको भनाइ छ ।

झोलुंगे पुलको माग गरेका छौंः वडाअध्यक्ष

बनगाड कुपिण्डे नगरपालिका–२ का अध्यक्ष मानबहादुर खत्रीले तुइन विस्थापन गरेर झोलुंगे पुल निर्माणका लागि पहल थालिएको बताउनुभयो । उहाँले वडाबाट झोलुंगे पुलको माग गरेर नगरपालिकामा पठाएको र नगरपालिकाले प्रदेश सरकारसँग झोलुंगे पुलको माग गरेको बताउनुभयो ।

‘भेरीमा झोलुंगे पुल नहँुदा स्थानीयलाई सास्ती भएको छ, भर्खरै मात्र तुइन निर्माण गरिएको हो, यसले स्थानीयलाई केही सहज बनाएको छ तर सास्ती धेरै छ, स्थानीयको वस्तु ओसारपसार गर्ने, विद्यार्थी पढ्न जाने, बिरामी भए उपचार गर्न जाने भनेकै जाजरकोटको छेडामा हो, त्यही भएर झोलुंगे पुल निर्माण नहुँदासम्मको लागि तुइन बनाइएको हो’– उहाँले भन्नुभयो– ‘हामीले माग गरेका छौं ।’ झोलुङगे पुल निर्माण भएमा बनगाड कुपिण्डे नगरपालिका–२ र ३ का साथै जाजरकोटका केही स्थानीयलाई समेत सहज हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस