दुना-टपरी बुन्न सिक्दै विद्यार्थी

‘सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, दुना टपरी बनाउन पनि सजिलो नै रहिछ, अब घरमा पनि दुना टपरी गाँस्न सिक्छु’ उहाँले भन्नुभयो ।

सल्यान, २० भदौँ ।
सल्यानको कपुरकोट गाउँपालिका–५ रिममा रहेको जीवन ज्योति नमुना माद्यामिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत चेता रेउलेलाई दुनाटपरीको बारेमा जानकारी भएपनि कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान थिएन् । गाउँघरमा दुना टपरीको प्रयोग गरेको, दुना टपरीमा नै खाएको देख्नुभएकी उहाँलाई दुना टपरी गाँस्ने तरिका सिक्न मन थियो । उहाँको इच्छा बिद्यालयले पुरा गरिदियो ।

‘सालको पातलाई कसरी गाँस्ने, कसरी दुना टपरी बुन्ने भन्ने बारेमा बिद्यालयमा नै सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडी बढाए भने राम्रो दुना टपरी बनाउन सक्छु’ उहाँले भन्नुभयो । विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । ‘पढाइका अलवा अतिरिक्त ज्ञानका कुरा सिक्न पाउँदा खुसी लागेको छ, सुरुवात भएकाले केही समस्या भएपनि अवका दिनमा अझै राम्रा दुना टपरी बनाउन सक्छु’ उहाँले भन्नुभयो ।

कक्षा १० मा अध्ययनरत विनोद कुमार महतलाई चाडपर्व, विहे, पजाआजाका बेला दुना टपरी देखे पनि कसरी बनाइन्छ भन्ने कौतुहलता थियो । ‘सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, दुना टपरी बनाउन पनि सजिलो नै रहिछ, अब घरमा पनि दुना टपरी गाँस्न सिक्छु’ उहाँले भन्नुभयो । बिद्यालयले दुना टपरी बनाउन सिकाएकाले आफुलाई सजिलो भएको उहाँको भनाइ छ ।

पढाइका अतिरिक्त बिद्यार्थीहरुलाई पुराना सिप सिकाउने र सामाजिक परिवेशका बारेमा ज्ञान दिने हेतुले दुना टपरी बनाउने कार्यमा बिद्यार्थीलाई संलग्न गराइएको हो । दुना टपरीको लागि बिद्यार्थीहरु आफैले सालका पात टिपेर ल्याए, बाँसका सिन्का बनाए भने शिक्षक अमृत शर्मा शिक्षिका लोकमाया केसी र ललिता केसीले दुना टपरी बनाउने कार्यमा सहजीकरण गर्नुभएको हो ।

पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तण गर्ने उद्देश्यसहित बिद्यार्थीलाई दुना टपरी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भुपाल साहुले जानकारी दिनुभयो । नेपाली संकृतिअनुसार चाडपर्व, विवाह, पुजाआजा लगाएतका कार्यमा दुना टपरीको प्रयोग गर्ने चलन छ । यस बिद्यालयमा अध्ययनरत कक्षाका १० का साधारण धार तर्फका ३८ जना र प्राविधिक धार (ए.जी.) तर्फका ४२ जना बिद्यार्थीले सिप सिकेको उहाँको भनाइ छ ।

‘घोकन्ते शिक्षा केही समयका लागि मात्रै हन्छ तर प्रयोगात्मक शिक्षा दीर्घकालिनसम्म हुने भएकाले विद्यार्थीलाई यसमा जोड दिँदै आएका छौँ, प्रयोगात्मक शिक्षा जीवन्त रहन्छ’ उहाँले भन्नुभयो ‘पहिलो पटक कक्षा १० का बिद्यार्थी भाइबहिनीलाई दुना टपरी बनाउने सिप सिकाएका छौँ, अव अरु कक्षामा अध्ययनरत बिद्यार्थीलाई पनि दुना टपरी बनाउने सिप सिकाउने हाम्रो सोच छ ।’

समाजमा दुना टपरीको महत्व र प्रयोग बढेपनि सीप पुस्तान्तरण नहुँदा हराउँदै गएको छ । यो सीप ज्येष्ठ नागरिकसँग मात्र सीमित छ । पछिल्लो समय प्लाष्टिक, कागज प्लेटको पयोग बढेर दुना टपरीको चलन लोप हुँदै गएको अवस्थामा बिद्यालयले बिद्यार्थीलाई लोप हुदैँ गरेको सिप सिकाउनु राम्रो पक्ष भएको स्थानिय बताउँछन् ।

बिं.स. २००९ सालमा स्थापना भएको यस बिद्यालयमा हाल ८ सय ६३ जना बिद्यार्थी रहेका छन् भने कक्षा ११ मा भर्ना जारी छ । यस बिद्यालयले आफ्नै जग्गामा बिद्यार्थीहरुलाई टमाटर, खुर्सानी लगाएतको तरकारीखेती गर्न समेत सिकाउदैँ आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित