मानसिक स्वास्थ्य समस्यालाई रोक्न सचेतिकरणका कार्यक्रम सञ्चालन गर्छौै : मन्त्री पोख्रेल

सल्यान, २३ भदौँ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोख्रेलले मानसिक स्वास्थ्य समस्याकाले आत्महत्याको जोखिम बढेको भन्दै यसलाई रोक्नको लागि सचेतिकरणका कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । उहाँले सार्वजनिक वृत्तमा हुने खुला बहस, सार्वजनिक व्यक्तित्वले आफूमा भएको मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गरिदिनाले मानसिक समस्या कम हुदैँ गएको र सचेतिकरणका कार्यक्रम पनि सञ्चालन गरिने बताउनु भएको हो ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा सल्यान खलंगामा सञ्चालन गरिएको मानसिक स्वास्थ्य प्रर्वद्धन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मानसिक स्वास्थ्य समस्याको बेलैमा उपचार गरेमा आत्महत्याको जोखिम कम हुने उहाँको भनाइ छ । ‘प्रदेश सरकारले प्राथमिकता दिन थालेपछि जनचेतना धेरै बढेको छ, तर अझै धेरै काम गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘तुलनात्मक रूपमा जनचेतना बढिरहे पनि एकदम सामान्य तरिकाले बढिरहेको छ, मानसिक स्वास्थ्य समस्या, अन्य शारीरिक स्वास्थ्य समस्या सरह हो उपचार गर्नुपर्छ, उपचारबाट निको हुन्छ भन्ने चेतना अझै ठूलो संख्याको नागरिकमा छैन, त्यसका लागि काम गर्नुपर्ने छ ।’

मानसिक स्वास्थ्य समस्यालाई सामाजिक लाञ्छना लगाउनेहरू कम हुँदै गइरहे पनि पूर्ण रूपमा हट्नका लागि केही समय लाग्ने उहाँको भनाइ छ । ‘तर पछिल्लो समय खुलेर कुरा गर्नेहरूको संख्या बढेको देख्दा विस्तारै सामान्यीकरण हुँदै गइरहेको छ, जुन अत्यन्तै सकारात्मक कुरा हो’ उहाँले भन्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य लक्ष्मी सुनारले ग्रामिण भेगमा अझै पनि मानसिक स्वास्थ्य समस्या रहेको बताउँदै यसलाई रोक्नका लागि आफुले प्रदेश सरकारको ध्यानाकर्षण गराउदैँ आएको बताउनुभयो । यस्तै सीएमसी नेपालका प्रदेश संयोजक हिमाल गैरेले स्वास्थ्य संस्थामा उपचारका लागि आउने विरामीहरुलाई उनीहरुको मनको कुरा सोधेमा मात्रै मानसिक स्वास्थ्य समस्या भएका विरामी खुल्ने र यसले पछिसम्म पार्ने जोखिमलाइ न्यूनिकरण गर्दै लैजाने बताउनुभयो ।

जिल्ला अस्पताल सल्यानका डा. आकाश मण्डलले शारिरीक समस्या लिएर उपचारमा आउने विरामीलाई मानसिक स्वास्थ्य समस्याका बारेमा जानकारी दिएमा यसलाई रोक्न सकिने बताउनुभयो । शारदा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले जिल्लामा रहेका सबै स्वास्थ्यसंस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम दिनुअनिवार्य भएको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण सामाजिक विकास मन्त्रालयका अधिकृत सातौँ खगेन्द्र प्रकाश गैरेले गर्नुभएको थियो । यसैविच स्वावलम्बन समुहका अध्यक्ष उत्तरा बिष्टले सामाजिक विकास मन्त्री पोख्रेललाई मानसिक स्वास्थ्य समस्या रोकथामका साथै उनीहरुको जीविकोपार्जन र निशुल्क उपचार तथा पर्याप्त औषधिको व्यवस्था गरिदिन माग सहित ज्ञापन पत्र बुझाउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित