सल्यान, २५ भदौँ ।
सिद्धिबक्स गण, सिमखर्क व्यारेक सल्यानमा गत मंसिरदेखी सञ्चालन भएको सैन्य आधार तालिममा सहभागि ६६ जना दिक्षित भएका छन् । करिब ९ महिनाको कठोर सैन्य आधारभूत तालिमपश्चात सोमबार सिमखर्कमा भएको दीक्षान्त समारोहबाट ६६ जना सैन्यहरु सिपाही दर्जामा प्रवेश गरेका हुन् । दिक्षान्त समारोह पश्चात उनीहरु नेपाली सेनामा रहेको विभिन्न युनिट–फर्मेशनको रिक्त रहेको दरबन्दीमा नियुक्ति भएका हुन् ।
पास आउटको बेला तालिमरत शिक्षार्थीहरुको आफन्त र पाहुनाहरुलाई दीक्षान्त समारोह हेर्नको लागि निमन्त्रणा गरिएको थियो । देशका विभिन्न जिल्लामा घर भएका शिक्षार्थीहरुलाई नेपाली सेनाको सिपाही दर्जामा नियुक्ति हुनुभएकोमा समारोहका प्रमुख अतिथि गणका गणपति प्रमुख सेनानी कृष्ण चन्द्र ठकुल्लाले बधाइ सहित आगामी दिनहरुमा सफल सैनिक जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उहाँले आफ्ना सन्ततीलाई हौसला दिई मातृभूमीको सेवामा समर्पित गराउनुभएकोमा परिवारजनप्रति हार्दिक आभार समेत व्यक्त गर्नुभएको छ । समारोहमा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, जिल्ला न्यायधिस गिरीराज गौतम, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् पत्रकारको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न ईभेण्टमा प्रथम हुने सैन्यहरुलाई पुरस्कार वितरण गरिएको थियो भने तालिम अवधिभर सर्वोत्कृष्ट हुने सैन्य (शिक्षार्थी) लाई खुकुरी होल्डर घोषित गरी पुरस्कार वितरण गरिएको थियो ।