सल्यान, ३० भदौँ ।
सल्यानको बागचौर नगरपालिका–९ कमलपोखरीमा रहेको बालजागरण प्राथमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीले जीर्ण शौचालयका कारण सास्ती पाउँदै आएका छन् । विद्यालयमा दशकअघि नै निर्माण गरिएको शौचालयको भवन भूकम्पले भित्ता चर्किएका कारण विद्यार्थीले जोखिम मोलेर नै शौच गर्न बाध्य भएका हुन् । शौचालयको जस्तापातामा खिया लागेको छ । भित्ता चर्किएका छन् । काठ कुहिएर भवन भत्किने अवस्थामा पुगेको छ ।
शौचालयका तीनवटा कोठा छन् । कोठामा जीर्ण झ्याल ढोका छन् । शौचालयमा पानी छैन । कोठाभरि नै दिसापिसाव छ । सरसफाइ गरिएको छैन । विद्यार्थीले भने यही शौचालय प्रयोग गर्दै आएका छन् । कक्षा ३ सम्म सञ्चालित यस विद्यालयमा सानो उमेर समूहका विद्यार्थी भएकाले बालमैत्री शौचालय त छैन नै प्रयोगमा रहेको शौचालय पनि जीर्ण भएका कारण कति बेला भत्किने हो भन्ने निश्चित छैन । भवन भत्किने डरले कतिपय विद्यार्थी जंगलमा शौच गर्न जाने गरेका छन् ।
‘शौचालयका दुईवटा कोठा फोहोर छन्, पानी नै छैन, भवन पनि भत्किने डर छ, अर्को कोठा
सरले प्रयोग गर्नुहुन्छ, हामी त जंगल जान्छौं’– एक विद्यार्थीले भने । अभिभावकले पनि जीर्ण शौचालयका कारण आफ्ना बालबालिकाले सास्ती भोग्दै आएको बताएका छन् ।
भौतिक संरचनाकै कारण पनि विद्यार्थीको आकर्षण छैन । अहिले कक्षा ३ सम्ममा १५ जना मात्रै विद्यार्थी छन । विद्यालयका प्रधानाध्यापक अंगेश्वरी डाँगीले भवन जीर्ण भए पनि विद्यार्थीले भने शौचालयको नै प्रयोग गर्दै आएको दाबी गर्नुभयो । दशकअघि जिल्ला शिक्षा कार्यालयमार्फत निर्माण गरिएको भवन भुकम्पको कारण जीर्ण बनेको र अहिले त्यही जीर्ण शौचालय भवनको प्रयोग गर्दै आएको उहाँको भनाइ छ ।
‘शौचालय भवन जीर्ण छ, कतिबेला भवन भत्किने हो, थाहा छैन, जीर्ण भवनका कारण दुईवटा कोठा प्रयोगविहीन छन्, विद्यार्थी र शिक्षकले एउटै कोठा प्रयोग गर्दै आएका छौं, विद्यालयमा कम विद्यार्थी भएकाले खासै समस्या भएको छैन’– उहाँले भन्नुभयो । उहाँले शौचालय भवन निर्माणका लागि माग गरिएको भएपनि अझै नयाँ निर्माण हुन नसकेको बताउनुभयो । यस विद्यालयमा दरबन्दीमा एकजना, बाल विकास एकजना र कार्यालय सहयोगी एकजना कार्यरत रहेका छन् ।
धारा छ, पानी छैन
यस विद्यालयमा खानेपानीको अभाव रहेको छ । विद्यालय वरिपरि खानेपानीको मुहान नहुनु र विद्यालयको आफ्नै स्रोतबाट टाढाको मुहानको खानेपानी ल्याउन सक्ने अवस्था नभएकाले विद्यालयमा खानेपानीको अभाव भएको हो । केही महिनाअघि गाउँमा सञ्चालित खानेपानीको योजनाबाट विद्यालयमा पनि एक धारा दिने सहमति अनुसार विद्यालय परिसरमा धारा निर्माण गरिएको थियो । तर समुदायका नागरिकले नै पानी गाउँकै घरधुरीमा नपुगेको र पाइपको पनि अभाव रहेको भन्दै विद्यालयमा धारा जडान गर्न मानेनन् ।
जसका कारण विद्यालयमा जडान गरिएको धारा प्रयोगविहीन छ । अहिले करिब आधा घण्टा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । पिउने र शौचालयमा प्रयोग गर्ने पानी कार्यालय सहयोगीले बोकेर ल्याउने गरेको विद्यालयले जनाएको छ ।