कपुरकोटका बिद्यालयमा ‘पाहुना शिक्षक’ : बिद्यार्थीलाई बिभिन्न क्षेत्रको ज्ञान प्राप्त हुने

प्रत्येक हप्ताको एकदिन कुनै एक क्षेत्रका बिज्ञ अर्थात पाहुना शिक्षकले आफ्नो ज्ञान, आफुले योग्यता हासिल गरेको क्षेत्र, यसको महत्व र बालबालिकालाई भावि योजना तय गर्नका लागि सहजता होस् भन्ने हेतुका साथ शैक्षिक जागरण अभियान मार्फत सबै बिद्यालयमा ज्ञान प्रदान गर्ने छन् ।

सल्यान, ३ असोज ।
सल्यानको कपुरकोट गाउँपालिका भित्र रहेका सामुदायिक बिद्यालयमा पाहुना शिक्षकको व्यवस्था गरिने भएको छ । विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरी ज्ञान दिन गाउँपालिकाले सञ्चालन गरेको ‘शैक्षिक जागरण अभियान’ अन्र्तगत सबै सामुदायिक बिद्यालयमा विभिन्न क्षेत्रका बिज्ञलाई पाहुना शिक्षकका रुपमा व्यवस्था गरिने भएको हो ।

गाउँपालिकामा सञ्चालित ४ वटा माद्यामिक बिद्यालय र ७ वटा आधारभूत विद्यालयमा शैक्षिक जागरण अभियान सञ्चालन हुने छ । जसअनुसार प्रत्येक हप्ताको एकदिन कुनै एक क्षेत्रका बिज्ञ अर्थात पाहुना शिक्षकले आफ्नो ज्ञान, आफुले योग्यता हासिल गरेको क्षेत्र, यसको महत्व र बालबालिकालाई भावि योजना तय गर्नका लागि सहजता होस् भन्ने हेतुका साथ शैक्षिक जागरण अभियान मार्फत सबै बिद्यालयमा ज्ञान प्रदान गर्ने छन् ।

पालिका भित्रमा सञ्चालित बिद्यालयमा कक्षा ६ देखी १२ सम्मका विद्यार्थीका लागि शैक्षिक जागरण अभियान सञ्चालन हुन लागेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । ‘विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरको ज्ञान दिन शैक्षिक जागरणको अभियान सञ्चालन गर्न लागेका हौँ, यस अभियानमा कुनै पनि क्षेत्रमा विज्ञता हासिल गरेको व्यक्तिले सातामा एक घण्टी विद्यार्थीलाई पढाउन सक्ने छ’ उहाँले भन्नुभयो ‘बिज्ञ व्यक्तिलाई पाहुना शिक्षकका रुपमा बिद्यालयमा पठाउँछौँ ।’

दशैँ अघि नै सबै बिद्यालयमा पाहुना शिक्षक पुग्ने र सातामा एक दिन बिद्यार्थीले किताव बाहेक बाहिरी क्षेत्रको बारेमा ज्ञान हासिल गर्न पाउने उहाँको भनाइ छ । ‘विद्यार्थीलाई समसामयिक देखि राजनैतिक, प्रशासनिक लगायतका कुराको ज्ञान दिनका लागि विद्यालयमा अभियान सञ्चालन हुने छ, यस अभियानले विद्यार्थीलाई व्यवहारिक, नैतिकवान मात्रै होइन, सफलता प्राप्तीमा महत्वपूर्ण भूमिका खेल्ने छ’ उहाँले भन्नुभयो ।

उहाँले विद्यार्थीलाई सामाजिक, शैक्षिक, प्रशासनिक, आर्थिक, उत्प्रेरणात्मक, स्वास्थ्य, कृषि, रोजगार, निर्माण, खोज, विज्ञान, वन तथा वातावरण, विपद् व्यवस्थापन, नैतिक शिक्षा, न्यायिक प्रक्रिया लगायतका विषयमा विज्ञहरूबाट साप्ताहिक रूपमा कक्षा सञ्चालन हुने बताउनुभयो । ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिले विद्यालयमा अधिकतम दुई घण्टीसम्म पढाउन पाउने छन्, यसले बिद्यार्थीलाई भोली म के बन्ने ? डाक्टर बन्न के पढ्ने ? सरकारी कर्मचारी बन्न के गर्ने ? प्रहरी बन्न के पढ्ने ? जस्ता बिद्यार्थीका जिज्ञासा सम्बोधन हुन्छन्, विद्यार्थीलाई आगामी बाटो तय गर्न पनि सहज हुन्छ’ उहाँले भन्नुभयो ।

शैक्षिक जागरण अभियानमा सहभागी हुन चाहने विज्ञहरूलाई आफूले लिन चाहेको क्षेत्रको प्रस्ताव पेश गर्नका लागि असोज ५ गतेसम्मको समय तोकिएको छ । कतिपय विज्ञले निःशुल्क कक्षा लिनेछन् भने शुल्क लिन चाहने विज्ञलाई गाउँपालिकाले न्यूनतम शुल्क व्यहोर्ने छ । बिज्ञ व्यक्तिको इच्छाका आधारमा सःशुल्क वा निःशुल्क कक्षा लिने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले पाठ्यक्रममा उल्लेख भएका बिषयबस्तु बाहेक अरु समसामयिक बिषयमा बिद्यार्थीलाई साप्ताहिक रुपमा ज्ञान दिइने बताउनुभयो । उहाँले पालिकामा प्राप्त भएका प्रस्तावनाका आधारमा विद्यालयसँगको आपसी समझदारीमा समय उपलब्ध गराउने बताउनुभयो ।

‘विद्यार्थीलाई पढ्नुपर्छ भन्ने भावनाको विकास गराउन पनि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने छ’ उहाँले भन्नुभयो ‘विद्यार्थीमा सर्वाङ्गीण विकासका लागि नैतिक, व्यवहारिक ज्ञान सीपको आवश्यकता पर्ने भएकाले अभियानले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ शैक्षिक जागरण अभियान सञ्चालनका लागि गाउँपालिकाले यसबर्ष ३ लाख रुपैँया छुट्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित