राप्ती राजमार्गको यात्रा जोखिमपुर्ण : गाउँ फर्किनेलाई हिलो र धुलोले स्वागत !

साँघुरो सडक, ठूला–ठूला खाल्टाखुल्टी अनि सडकमा हुने धुलो र हिलोले चाड मनाउन गाउँ फर्केका सबैलाई स्वागत गरिरहेको छ ।


सल्यान, ३ असोज ।

 दशैं नजिकिएसँगै सल्यानका गाउँमा स्थानीयवासीको चहलपहल बढ्न थालेको छ । यहाँका जिल्ला सदरमुकाम र जिल्लाबाहिर अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा कार्यरत कर्मचारीसमेत गाउँ फर्किन थालेपछि गाउँमा चहलपहल बढ्न थालेको हो । रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बाहिरिएका चाडबाडका लागि गाउँ फर्किन थालेका छन् ।

जिल्लाको सदरमुकामबाट गाउँ फर्कनेलाई खासै समस्या नहोला तर राप्ती राजमार्ग भएर यात्रा तय गरेर गाउँ फर्किनेको यात्रा भने जोखिमपूर्ण बनेको छ । साँघुरो सडक, ठूला–ठूला खाल्टाखुल्टी अनि सडकमा हुने धुलो र हिलोले चाड मनाउन गाउँ फर्केका सबैलाई स्वागत गरिरहेको छ । दशकअघिको समस्या अहिले पनि जस्ताको तस्तै छ । छत्रेश्वरीका नरेन्द्र पुन विगत चार वर्षदेखि काठमाडांैमा बस्नुहुन्छ ।

अध्ययनसँगै रोजगारी गर्दै आउनुभएका उहाँ चाडपर्वको समयमा गाउँ फर्किनुहुन्छ । तर राप्ती राजमार्गको जोखिमपुर्ण यात्रा सम्झदा उहाँलाई गाउँ फर्किन मन लाग्दैन । चार वर्ष पहिले सडकको हालत जुन थियो, अहिले पनि अवस्था उस्तै छ, आखिर ज्यानको बाजी राखेर कहिलेसम्म जोखिमपुर्ण यात्रा गर्ने ? ’– उहाँ भन्नुहुन्छ ।

चाडपर्वमा शहर भन्दा गाउँ नै रमाइलो लाग्छ, घरपरिवार र आफन्तसँग भेट हुन्छ, सबैसँग भेट्ने र दुःखसुख साट्ने भनेकै चाडपर्व हो’– उहाँले थप्नुभयो– ‘सडकको हालत यस्तो छ, गाडीमा यात्रुको कोचाकोच, गाडी व्यवसायीको अस्वस्थ प्रतिस्पर्धा हुन्छ, राप्ती राजमार्ग नकटेसम्म डर लागिरहन्छ ।’ बेला–बेलामा राजमार्गमा हुने सवारी दुर्घटनाले यात्रा गर्दा मन झस्किने गरेको उहाँको भनाइ छ । राजमार्गमा उड्ने धुलोले स्वास्थ्यमा समेत असर गरिरहेको बागचौरका दीपक वलीले बताउनुभयो ।

‘सडकको बेहाल छ, कतै–कतै खाल्टा टाल्ने काम भए पनि असारमा टालिएका खाल्टा उप्किसकेका छन्, जीर्ण सडकले भनेकै समयमा गन्तव्यमा पुग्न सकिदैन, चाडपर्वमा जिल्ला भित्रिने सवारी साधन र यात्रुको चाप हुन्छ’– उहाँले भन्नुभयो– ‘दाङबाट सल्यान आइपुग्दा धुलोले मान्छे नै चिनिन गाह्रो भइसक्छ ।’

सवारी दुर्घटनामा परी पाँच वर्षमा ९० जनाको मृत्यु

असोज ८ गते रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटनामा प¥यो । दुर्घटनामा परी जीपमा सवार दुईजनाको मृत्यु भयो । जीप दुर्घटना भएको दश दिनपछि असोज २० गते राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना भयो । सवार दुईजनाको मृत्युु भयो भने दर्जनबढी घाइते भए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको अवधिमा सल्यानमा सवारी दुर्घटनाबाट ९० जनाको मृत्यु भएको छ । त्यसमध्ये अधिकांश घटना राप्ती राजमार्गमा नै हुने गरेका छन् । आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा ३९ दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । आर्थिक वर्ष ०७७/०७८ मा एक सय ४३ सवारी दुर्घटनामा ११ जना, आर्थिक वर्ष ०७८/०७९ मा एक सय ३३ सवारी दुर्घटनामा ३६ जना, आर्थिक वर्ष ०७९/०८० मा ८१ सवारी दुर्घटनामा परेर १९ जनाको मृत्यु भयो ।

यस्तै चालु आर्थिक वर्ष ०८/०८१ को हालसम्म २४ वटा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दिनहुँजसो सडक दुर्घटना भइरहँदा सरकार र सरोकारवाला निकायले चासो दिएको देखिदैन । तीब्र गति, चालकको लापरवाहीलगायत सडक दुर्घटनाका थुप्रै कारण हुन् तर प्रमुख कारण जीर्ण सडक नै भएको सर्वसाधारण बताउँछन् ।

सडक दुर्घटना रोक्न सचेतिकरणका कार्यक्रम सञ्चालन
जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढ्दो क्रममा छन् । चाडपर्व नजिकिएका छन् । यस्तो बेलामा सडकमा सवारीको चाप बढ्ने भएकाले हुनसक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न सचेतिकरणका कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको भनाइ छ । सल्यानमा सबै भन्दा धेरै सवारी दुर्घटना राप्ती राजमार्ग अन्तर्गतका सडक खण्डमा हुने गरेको छ । यति मात्रै नभइ सडक स्तरोन्नति गर्न भन्दै ठेक्काको जिम्मा लिएका ठेकदारले विचमा नै काम अलपत्र छोड्दा नागरिकले सास्ती मात्रै नभइ बर्षेनी अकालमै ज्यान गुमाउनु परेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित