नवजात शिशुको स्वास्थ्य सेवा सुदृढिकरण गर्न स्वास्थ्य सामाग्री हस्तान्तरण

अस्पतालले विगत देखी नै नवजात शिशु स्याहार कक्ष सञ्चालन गर्दै आएको र अवका दिनमा सेवालाई थप स्तरीय बनाउन ती सामाग्री महत्वपुर्ण हुने उहाँको भनाइ छ ।

सल्यान, १७ कार्तिक ।

नवजात शिशुको स्वास्थ्य सुदृढिकरण गर्नको लागि जिल्ला अस्पताल सल्यानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला अस्पतालमा नवजात शिशु स्याहार कक्ष सञ्चालन भैरहेको भएपनि यसका लागि आवश्यक पर्ने थप स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । जसमा फोटोथेरापी मेसिन, बेबि वार्मर, इन्कुवेटर, अक्सिजन कन्सन्ट्रेटर लगाएत गरि २६ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

वान हार्ट वल्डवाइडको आर्थिक सहयोगमा दलित विकास समाज सल्यानद्धारा सञ्चालित स्थानिय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना मार्फत विहीबार स्वास्थ्य सेवा कार्यालय सल्यानलाई ती सामाग्री हस्तान्तरण गरिएको हो । ११ लाख ७० हजार रुपैँया बराबरका सामाग्री हस्तान्तरण गरिएको दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले जानकारी दिनुभयो ।

नवजात शिशुको उपचारमा अझै सहजता होस भन्ने बिषयलाई मुख्य मानेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाइ छ । उहाँले यसअघि पनि अस्पताललाई स्किल ल्याव अन्र्तगतका सामाग्री उपलब्ध गराइएको बताउनुभयो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य सेवा कार्यालय सल्यानका डा. अर्जुन कुमार बुढाले प्रसुति भएपश्चात नवजात शिशुमा आउन सक्ने स्वास्थ्य जोखिमलाई न्युनिकरण गर्न यी स्वास्थ्य सामाग्रीले मद्धत गर्ने बताउनुभएको छ । अस्पतालले विगत देखी नै नवजात शिशु स्याहार कक्ष सञ्चालन गर्दै आएको र अवका दिनमा सेवालाई थप स्तरीय बनाउन ती सामाग्री महत्वपुर्ण हुने उहाँको भनाइ छ ।

स्थानिय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजनाले जिल्लाका १२ वटा स्वास्थ्य संस्थामा सञ्चालित बर्थिङ सेन्टरलाई समेत आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको वान हार्ट वल्डवाइडका जिल्ला संयोजक कोषराज भट्टले जानकारी दिनुभयो । बर्थिङ सेन्टरका लागि डेलिभरी बेड, बेबी वार्मर, मेडिसिन ट्रली लगाएतका बिभिन्न सामाग्री उपलब्ध गराइएको उहाँको भनाइ छ ।

जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसी, नर्सिङ इन्चार्ज सुलोचना महर्जन, डि.डि.एस/एस एम एन एच एस परियोजनाका कार्यक्रम संयोजक निरज भट्टराई, फिल्ड अफिसर युवराज थापा लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित