सल्यानको दार्माका भुकम्प पिडितलाई रेडक्रसबाट त्रिपाल र कम्बल

सल्यान, २० कार्तिक ।
भुकम्पबाट प्रभावित भएका सल्यानका नागरिकलाई राहत वितरण गर्न थालिएको छ । बस्दै आएको घर नै भत्किएपछि समस्यामा परेका सल्यानको दार्मा गाउँपालिकाका भुकम्प प्रभावितलाई तत्कालको लागि राहत वितरण गर्न थालिएको हो । घर भत्किएर चौरमा बस्दै आएका पिडितलाई तत्कालको लागि त्रिपाल, कम्बल, खाद्यान्न वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । उहाँले पुर्णरुपमा घर भत्किएर चौरमा बस्दैआएका पिडितलाई प्राथमिकता दिएर राहत वितरण गर्न थालिएको बताउनुभयो ।

‘क्षतिको विवरण संकलन गरिरहेका छौँ, पिडितको पहिचान गर्ने र तत्कालको लागि गाँस, बासकोे व्यवस्था गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘हामीले अहिले दिएको राहत तत्कालको लागि हो, पालिकाले भुकम्प प्रभावितको उचित व्यवस्थापन गर्छ, हामीले हाम्रा नागरिकलाई भोकभोकै मर्न दिदैनौँ, वास्तविक पिडित नछुटोस् भन्ने हेतुका साथै प्रहरी, जनप्रतिनिधि, कर्मचारी प्रभावित क्षेत्रमा खटिएका छौँ ।’

दार्माका भुकम्प प्रभावितको लागि नेपाल रेडक्रस सोशाइटी सल्यानले राहत सामाग्री उपलब्ध गराएको छ । रेडक्रसले ६० थान कम्बल र ५० थान त्रिपाल भुकम्प प्रभावितको लागि भनेर गाउँपालिकालाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोशाइटी सल्यानका जिल्ला सभापति यौवन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुना मल्ल, नेपाल रेडक्रस सोशाइटी सल्यानका मन्त्री इन्द्र कुमार शर्मा, सदस्य ज्ञान प्रकाश शर्मा लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित