सल्यान, २३ कार्तिक ।
जिल्ला अस्पताल सल्यानबाट सर्पदंशको उपचार सेवा सुरु भएको छ । विगतमा जिल्लामा नै सर्पदंशको उपचार नहुदा सर्पले टोकेपछि उपचारका लागि दाङ, सुर्खेत वा बाँके जानुपर्ने बाध्यता रहेको थियो । विगत २ महिनायता भने जिल्ला अस्पताल सल्यानमा नै सर्पदंशको उपचार सेवा सुरु भएको छ । अहिले अस्पतालबाट सर्पदंशका बिरामीले सहज रूपमा उपचार पाउन थालेका छन ।
उपचारका लागि यहाँ पुगेकाहरूले बिषालु सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनु परेको छैन् । जिल्लामा बर्षेनी सर्पदंशका विरामी बढ्दै गएकाले जिल्लामा नै सर्पदंशको उपचार सेवा सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले जानकारी दिनुभयो । विगतमा दक्ष जनशक्ति नहुदा सर्पदंशको उपचार सेवा प्रदान गर्न नसकिएको भएपनि अहिले अस्पतालमा दक्षजनशक्ति भएकाले सर्पदंशको उपचार सेवा सुरु गरिएको उहाँको भनाइ छ ।
‘बिषालु सर्पले टोकेर बेहोस भएका बिरामीसमेत निको भएर घर फर्कने गरेका छन्, घाँस दाउरा गर्दा वा घरायसी काम गर्दा सर्पले टोक्ने सम्भावना बढी हुन्छ,’ उहाँले भन्नुभयो ‘विगतमा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो, अहिले यहाँ उपचार सुरु भएदेखि बाहिर जानुपर्ने बाध्यताको अन्य भएको छ ।’ कहिलेकाही जटिल खालका सर्पदंशका विरामीको लागि भेन्टिलेटर चाहिने भएकाले त्यस्तो प्रकृतिका विरामीलाई मात्रै जिल्ला बाहिर पठाउने गरिएको उहाँको भनाइ छ ।
‘लक्षणका आधारमा कुन सर्पले टोकेको भन्ने पत्ता लगाएर त्यहीअनुसार उपचार गर्ने गरेका छौं,’ उहाँले भन्नुभयो ‘जिल्ला अस्पतालमा भेन्टिलेटर छ, यसलाई प्रयोग गर्न सकिएको छैन्, निर्माणाधिन नयाँ भवन निर्माण सम्पन्न भएसँगै भेन्टिलेटर पनि जडान गर्छौ, यसले विरामीलाई सहज हुने छ ।’ सर्पदंशको उपचार सेवा हालै सुरुवात भएकाले विरामीको खासै चाप नभएपनि अवका दिनमा अस्पतालमा सर्पदंशका विरामी बढ्ने डा. बुढाको भनाइ छ ।
अहिले अस्पतालमा २४ सैं घण्टा सर्पदंश उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । सबै प्रजातिका सर्पले टोक्छन् तर त्यसमध्ये विषालु र विषरहित भन्ने हुन्छ । विष रहित सर्पले टोके कुनै किसिमको हानि हुँदैन । तर सर्वसाधारणलाई थाहा नभएका कारण सबै सर्प विषालु नै सम्झिन्छन् । सर्पले टोकेपटि धामी–झाँक्रीसँग उपचार गराउँछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएकाले जतिसक्दो चाँडो अस्पतालमा लिएर उपचार गर्नुपर्ने अस्पताले जनाएको छ ।
सर्पले टोेकेका बिरामीले सहज रूपमा उपचार पाई निको हुन थालेपछि सर्पदंशका विरामी तथा उनीहरुका आफन्त खुसी भएका छन् । सर्पदंश उपचार केन्द्र स्थापना भएपछि यस क्षेत्रमा सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता टरेको शारदा नगरपालिकाका स्थानिय कल्पना बुढाथोकीले बताउनुभयो ।
‘सर्पले टोक्नेबित्तिकै एम्बुलेन्स वा गाडी रिजर्व गरेर सुर्खेतको मेहेलकुना पु¥याउनु पथ्र्यो, तर अहिले भने जिल्लामा नै उपचार भएपछि सहज भएको छ’ उहाँले भन्नुभयो । ‘यसभन्दा अघि जिल्ला बाहिर जानुपर्ने बाध्यता त थियो, त्यसमा पनि लामो दूरी पार गर्दा बिरामीलाई तलमाथि हुने हो कि भन्ने चिन्ता पनि थपिन्थ्यो ।’