सल्यान, २६ कार्तिक ।
तिहार आएसँगै बगैँचामा फुलेको फूलले छुट्टै रौनकता बढाएको छ । तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने गरिन्छ । आँगनका डिल र बारीका कान्लामा सयपत्री फूल ढकमक्क फुलेका छन् । ढकमक्क फूलेका सयपत्री फूल देख्दा कसको पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ ।
पछिल्लो समय सल्यानमा गरिएको सयपत्री फूलको खेतिले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल अर्डर, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ । शारदा नगरपालिका–१ पटनेरीका कुमार हमाल आजभोली फूल टिप्ने, माला बनाउने र बिक्री गर्ने कार्यमा व्यस्त हुनुहुन्छ ।
उहाँको दैनिकी अचेत पुष्प बगैँचामा नै बित्ने गरेको छ । अघिल्लो बर्ष ६ रोपनीमा पुष्प खेती गर्नुभएका उहाँले यसबर्ष ८ रोपनी जग्गामा पुष्प खेती गर्नुभएको छ । गत बर्ष सबै खर्च कटाएर उहाँले ३ लाख रुपैँया वचत गर्नुभएको थियो । ‘गत बर्ष जिल्लाबाहिर माला धेरै नै निकासी भयो, यसले गर्दा स्थानिय वजारमा पु¥याउन सकिन्, यसबर्ष पनि बाहिरबाट माग धेरै आएको छ, यसबर्ष चार लाख आम्दानी हुने अनुमान गरेको छु’ उहाँले भन्नुभयो ।
शारदा नगरपालिका–४ साहुटोलका शिशिर न्यौपाने पनि अहिले पुष्प खेतीमा नै व्यस्त हुनुहुन्छ । पहिलोपटक पुष्पखेति गर्नुभएका उहाँलाई तिहार नजिकिएसँगै फुर्सद छैन् । ४ रोपनी क्षेत्रफलमा गरिएको पुष्प खेतिबाट ८ क्विन्टल फूल उत्पादन हुने अनुमान छ । बाँझो जग्गाको उपयोग गरेर पुष्पखेती गर्नुभएका उहाँले फूल विक्रीका लागि कुनै समस्या नभएको बताउनुभयो ।
‘झण्डै एक दशक देखी बाँझो बारीमा यस वर्ष फूल खेती गरेको छु, यो पहिलोपटक हो, जिल्लामा फूलको सम्भावना देखेर नै खेती गरेको हुँ, जिल्ला बाहिरबाट अर्डर आएको छु, दशैँमा खैराबाङ मन्दिरमा माला लिएको थिए, राम्रो बिक्री भएको थियो’ उहाँले भन्नुभयो ‘यो पटकको तिहारसम्म कति बिक्री हुन्छ, त्यही आधारमा अर्को वर्ष पनि खेती सुरु गर्छु ।’ यसबर्ष मात्रै करिब ३ लाख सम्म आम्दानी हुने उहाँको भनाइ छ ।
अघिल्लो वर्ष सल्यानमा पुष्पखेति गर्ने कृषकको संख्या निकै कम थियो तर यो वर्ष भने पुष्प खेति गर्नेको संख्यामा वृद्धिभएको छ । यो वर्ष मात्रै सल्यान जिल्लाभर २५ रोपनी क्षेत्रफलमा पुष्पखेती गरिएको छ । तर जिल्लाको लागि सयपत्री पर्याप्त छैन् । पुष्पखेति गरिरहेका कृषकका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख रेशम कुमार बस्नेतले बताउनुभयो ।
गएको बर्ष दुई जना कृषकले मात्रै फूल खेती गरेकोमा यसबर्ष शारदा नगरपालिकामा दुई जना र त्रिबेणी गाउँपालिकामा एक जना कृषकले पुष्पखेती गरेको उहाँको भनाइ छ । राम्रो आम्दानी हुनेभएपछि जिल्लामा पुष्पखेती प्रतिको आकृर्षण बढ्दो छ । कृत्रिम मालाको आयात र प्रयोगलाई निषेध गर्दै अर्गानिक फूलको मालाको प्रयोगलाई बढावा दिन सरकारले यसतर्फ ध्यान दिएमा जिल्लालाई फूलमा आत्मनिर्भर बनाउन सकिने कृषक बताउँछन् ।
स्थानिय उत्पादनले वजारको माग धान्दैन्
सल्यानका व्यवसायिहरुले जिल्लामा उत्पादन भएको फूलले वजारको माग धान्न नसक्ने बताएका छन् । विगत दुई बर्षयता मात्रै सिमित मात्रामा फूल खेती थालिएकाले जिल्लामा उत्पादन भएको फूल जिल्लाका लागि पर्याप्त नभएको बताएका हुन् । उद्योग बाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले प्लाष्टिकका माला बिक्री वितरणमा लगाइएको प्रतिवन्ध सहि भएपनि समयानुकल नभएको बताउनुभएको छ ।
‘व्यापारीले पन्ध्र दिन अगावै, एक महिना अगावै प्लाष्टिकको माला आयात गर्छन्, कसैले फुटकरमा त कसैले होलसेलमा बिक्री गर्छन्, नगरपालिकाले प्लाष्टिकका मालामा प्रतिवन्ध लगाउनु सहि छ, त्यो निर्णय व्यवसायिले मान्नुपर्छ तर चाडपर्व आउनु केही महिना अगाडी नै सचेत गराएको भए व्यापारीको लगानी डुब्ने थिएन्’ उहाँले भन्नुभयो । यसबर्षको तिहारमा मात्रै श्रीनगरका व्यापारिले करिब १८ लाख बढीको प्लाष्टिकका माला आयात गरेका थिए ।
जिल्लाका ग्रामिण भेगमा घरायसी प्रयोगका लागि सिमित परिवारले फूल खेती गर्ने गरेको भएपनि जिल्लामा खेती गरिएको फूलले समग्र जिल्लाको माग धान्न नसक्ने उहाँको भनाई छ ।