सल्यान, ६ मंसिर ।
सल्यानको दार्मा गाउँपालिकाको भुकम्प प्रभावितको घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको छ । चिसोका कारण बालबालिका, सुत्केरी, बृद्धबृद्धा विरामी परेपछि मंगलबारदेखि विरामीको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र दार्मा गाउँपालिकाको स्थानिय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो ।
जसमा पहिलो दिन दार्मा गाउँपालिका १, २ र ३ का करिब एक सय पचास बढी नागरिकको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य निरिक्षक तारा प्रसाद रिजालले जाकारी दिनुभयो । स्वास्थ्योपचारका लागि स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगर सहित डाक्टर, स्वास्थ्यकर्मी र पालिकाको स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविर सञ्चालन गर्दा भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेटन नसकिने र विरामी परेका समेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि विरामी परेकाको घरघरमा गएर स्वास्थ्योपचार गर्न थालिएको हो ।
डा. बुढा मगरले भूकम्पका कारण प्रभावित भएको दार्मामा चिसोले गर्दा बालबालिका, सुत्केरी तथा बुढाबुढी समस्यामा परेका कारण कुनै पनि रोगको महामारीको रुप लिन नपाओस भनि स्वास्थ्योपचार सेवा सञ्चालन गरेको बताउनुभयो । स्वास्थ्य उपचारसँगै परामर्श सेवा समेत प्रदान गरिएको छ । मंगलबारबाट शुरु भएको स्वास्थ्य जाँच तथा उपचार सेवा बुधबार पनि सञ्चालन हुने छ ।