सल्यान, ८ मंसिर ।
सल्यानमा लागुऔषध विरुद्ध लाल्टिन अभियान सुरु भएको छ । सुरक्षित कर्णाली विशेष अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लामा लागुऔषध विरुद्ध लाल्टिन अभियान सुरु गरेको हो । पछिल्लो समयमा लागूऔषधको लत र कुलतमा फस्नेको संख्या बढ्न सक्ने भएकाले जिल्लामा लाल्टिन अभियान सुरु गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपि नविन कार्कीले जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जानसक्ने जोखिम भएकाले लाल्टिन अभियान सुरु गरिएको बताउनुभयो । उहाँले किशोरावस्था देखी नै लागूऔषध सेवन गर्न सक्ने भन्दै उनीहरुलाई जोगाउन लाल्टिन अभियान सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
अभियानमा लागूपदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनविरुद्ध प्रहरी परिचालन गरी कानुनी दायरामा ल्याउने, लागु औषध दुव्र्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गर्ने र बढी प्रभाव परेका क्षेत्र वा वर्ग लक्षित नियन्त्रणका उपायहरु अपनाइने उहाँको भनाइ छ ।
यस्तै लक्षित वर्गहरुको लागि निरन्तर रुपमा प्रभावकारी तवरले लागु औषध विरुद्ध सचेतना अभिवृद्धि कार्यक्रमहरु गर्ने र आम नागरिकलाई सचेत बनाई सक्रिय रुपमा सहभागी गराउँदै लागु औषध दुव्र्यसन र अपराधलाई निरुत्साहित पारी समाज र नागरिकहरुमा सुरक्षा अनुभूति बढाउने अभियानको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।
यो अभियानलाई स्थानिय तहसँगको साझेदारीमा वडा तहसम्म विस्तार गरिने प्रहरी निरिक्षक भवानी प्रसाद धमलाले बताउनुभयो । जसमा जिल्ला स्तरमा प्रहरी प्रमुखको संयोजकत्वमा जिल्ला लाल्टिन समन्वय डेस्क रहने छ । यस्तै पालिकामा प्रमुख वा अध्यक्षको संयोजकत्व र वडास्तरमा वडाअध्यक्षको संयोजकत्वमा लाल्टिन समिती रहने छन् । जिल्लामा लागुऔषधको अवस्था भयाभह नभएपनि जोखिम उच्च भएकाले यो अभियान सार्थक बन्ने उहाँको भनाइ छ ।
प्रहरी अनुसार चालु आर्थिक बर्षको हालसम्म कुनै पनि लागुऔषधका घटनाका दर्ता भएका छैनन् । अघिल्लो आर्थिक बर्ष २०७९/०८० र आर्थिक बर्ष २०७८/०७९ मा २/२ वटा लागुऔषधका घटना दर्ता भएका थिए ।