सल्यान, ९ मंसिर ।
समाजमा हुने हरेक हिंसाले कसैको पनि भलो नगर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिताहरुले बताएका छन् । हरेक हिंसाले समाजमा विभेद, द्वन्द्व ल्याउनुका साथै आपसी सद्भाव र सहकार्य पनि कमजोर बन्दै जाने उनीहरुले बताएका हुन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका सुरुभएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातमा सल्यानको श्रीनगरमा आयोजित प्रभातफेरीका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले हिंसा कुनै बाहिरको व्यक्तिबाट नभई आफन्तबाट नै हुनु दुर्भाग्यपूर्ण भएकाले यसलाई न्यूनीकरण मात्र नभएर जरैदेखि अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘प्रायः महिलाहरू मानसिक, समाजिक, आर्थिक हिंसाबाट पीडित भइरहेका छन्, जसले गर्दा परिवार, समाज र देशलाई नै नराम्रो प्रभाब पारिरहेको छ’ उहाँले भन्नुभयो ।
अहिले पनि समाजमा विभिन्न खाले हिंसा भइरहेको तर्फ इंगित गर्दै उहाँले नगरपालिकाले लैगिंक हिंसा अन्त्य गर्न वडास्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काले हिंसा हुनु भनेको कानुन उल्लंघन गर्ने कुरा भएकाले कानुन उल्लंघन गरेर अपराधको भागेदारी हुनुभन्दा पहिले नै सजग हुनु राम्रो उपाय हुने बताउनुभयो । कुनै पनि खाले हिंसा न गर्न र हिंसा हुन नदिन सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपि नविन कार्कीले पछिल्लो समय दैनिक रूपमा कुनै न कुनै किसिमको हिंसा हुने गरेको बताउनुभयो । उहाँले शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, आर्थिक रूपमा पनि हिंसा हुने गरेको बताउनुभयो । श्रीनगर बजारको माथिल्लो प्रहरी पोष्टबाट सुरु भएको प्रभातफेरी तल्लो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
शारदा नगरपालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, युएसएआइडि/एआरएच कार्यक्रम (डिडिएस), सीएमसी नेपालद्धारा सञ्चालित प्रर्वद्धन परियोजना र इन्सेकको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका सहजीकरण अधिकारकर्मी मिना बुढाथोकीले गर्नुभएको थियो ।