विदेश जान स्वास्थ्य परिक्षण गराए : ‘दुवै मृगौला फेल’

बुवा भन्नुहुन्छ ‘अस्पतालले डायलासिस गरेर निको हुदैन् भनेको छ, भएको पैसा सबै उपचारमा सकियो, ऋण कारेर पनि उपचार गराए, अस्पतालले छोरा बचाउने भए मृगौला फेर्नुपर्छ भन्छ, मसँग छोराको मृगौला फेर्ने पैसा छैन्’

तेज बहादुर विकका बुवा

सल्यान, ९ मंसिर ।

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा, मैनेरीका तेज बहादुर विक उमेरले २६ बर्षको हुनुभयो । उहाँका एक श्रीमती र तीन छोरी छन् । घरायसी काम गरेर जीवननिर्वाह गर्दै आउनुभएका उहाँलाई घरायसी काम गरेर जीवननिर्वाह गर्न समस्या भयो । उमेर ढल्केकी हजुरआमा, एउटा हात र एउटा खुट्टा नचल्ने बुवा, बोल्न नसक्ने आमा र परिवारको खुसी र सुख खोज्दै तेज बहादुर ०७९ मंसिरमा विदेश जाने निचोडमा पुग्नुभयो ।

घरायसी काम र अरुको मजदुरी गरेर कमाएको पैसाले घरव्यवहार धान्न मुश्किल भएपछि उहाँले राम्रो कमाइ गर्न मलेशिया जाने सोचका साथ स्वास्थ्य परिक्षण गर्न र भिजा लगाउन काठमाण्डौँ जानुभयो । काठमाण्डौँ जानुअघि नै उहाँको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । हात, खुट्टा, अनुहार सुन्निने, पिसाबको मात्रा अचनाक कम वा बढी हुने, शारीरिक थकावट तथा कमजोरी महशुस हुने, हरेक समय कम्मरको भाग दुख्ने जस्ता समस्या देखिन्थ्ये ।

मंसिरको अन्त्यतिर तेज बहादुर काठमाण्डौँमा पुगेर विदेश जान स्वास्थ्य जाँच गराउनुभयो । स्वास्थ्य जाँचको नतिजा आयो ‘दुवै मृगौला फेल’ । स्वास्थ्य परिक्षणको रिपोर्ट हातमा पर्दा उहाँ आश्चर्यमा पर्नुभयो । अनि तेज बहादुरको विदेशको यात्रा समाप्त भएर अस्पतालको यात्रा सुरु भयो । सुरुवातमा काठमाण्डौँका विभिन्न अस्पतालमा धाउदा–धाउदै विदेश जानलाई ऋण लिएको पैसा सकियो । आफन्त, छिमेकी सबैबाट ऋण लिएर उपचार थालियो । तर प्रभावकारी उपचार भएन् ।

उपचारत तेज बहादुर विक र उहाँका दुई छोरी

तेज बहादुर अहिले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा दुवै मृगौलाको डायलासिस गराउदै आउनुभएको छ । उहाँ अस्पतालको बेडमा हुनुहुन्छ । उहाँको अवस्था दिनप्रतिदिन नाजुक बन्दै छ । बुवा जग बहादुर भन्नुहुन्छ ‘अस्पतालले डायलासिस गरेर निको हुदैन् भनेको छ, भएको पैसा सबै उपचारमा सकियो, ऋण कारेर पनि उपचार गराए, अस्पतालले छोरा बचाउने भए मृगौला फेर्नुपर्छ भन्छ, मसँग छोराको मृगौला फेर्ने पैसा छ्रैन् ।’

उहाँले छोराको उपचारको लागि अव ऋण कार्न जादा पनि पत्याउने ठाँउ कही नभएको बताउनुभयो । ‘मेरो सम्पत्ति भनेकै त्यही एउटा छोरा हो, मेरो दाहिने हात र खुट्टा चल्दैन्, अपांग छु, उसको आमा पनि अपांग छ, बोल्न सक्दिन, हाम्रो परिवारको भरोसा भनेकै त्यही एउटा छोरा हो, अहिले उपचारको अभावमा अस्पतालको बेडमा छट्पट्टाइ रहेको छ’ उहाँले थप्नुभयो ।

छोराको उपचारको लागि सहयोग गर्न सबै सहयोगीदाताहरुलाई उहाँले आग्रह गर्नुभयो । ‘छोराले विदेश गएर कमाउला र खुसीसँग बाँचौला भन्ने चाहाना थियो, अहिले त घरको छाक कसरी टार्ने हो भन्ने चिन्ताले सताउन थालेको छ, छोरा अस्पतालमा छ, बुवाआमा अपांग छौँ, छोरीहरु साना छन्, हाम्रो परिवारको विचल्ली हुने भयो’ उहाँले भन्नुभयो ‘म सबैलाई सहयोग गरिदिन आग्रह गर्छु, मेरो छोराको उपचारमा सहयोग गर्नुहोस् ।’

छोराको उपचारको लागि ऋण कारेर ६/७ लाख रुपैँया बढी खर्च भैसकेको उहाँको भनाइ छ । तेज बहादुरको विगत ६÷७ महिनादेखी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निशुल्क डायलासिस भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस