सल्यान, १४ मंसिर ।
सल्यानको शारदा नगरपालिका–१० मधानामा सञ्चालन गरिएको निशुल्क आँखा जाँच शिविरमा एक सय बढीले सेवा लिएका छन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र मधानामा विहीबार सञ्चालन गरिएको शिविरमा एक सय ११ जनाले सेवा लिएका हुन् । शारदा नगरपालिकाको आयोजना, नेपाल नेत्र ज्योति संघ सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राबिधिक सहयोग र शारदा नगरपालिका–१० को स्थानिय व्यवस्थापनमा आँखा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ७१ जना महिला र ४० पुरुषले सेवा लिएको वडा अध्यक्ष कृष्ण बहादुर बोहराले जानकारी दिनुभयो । जसमध्ये मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने १५ जना आँकाका बिरामीको पहिचान भएको छ । शिबिरमा ४७ जनालाइ निशुल्क चस्मा बितरण गरिएको थियो ।
आँखा जाँच शिविरमा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटाले आँखाको रक्षा गर्नु अपरिहार्य भएको बताउनुभएको छ । आँखा विना संसार नै अध्यारो हुने भएकाले आँखाको हेरचाहमा बिशेष ध्यान दिन सबैमा आग्रह गर्नुभएको थियो ।