सल्यानका भूमिहीन दलित र भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी

‘जग्गा नापजाँच भएर लालपुर्जा अन्तिम चरणमा छन्, मन्त्रालयले आवश्यक कर्मचारी पठाइदियो भने मंसिर महिनाभित्रमा भूमिहिन दलित र भूमिहीन सुकुम्बासीको लागि लालपुर्जा वितरण गर्छौ’ उहाँले भन्नुभयो ‘अव्यवस्थित बसोबासीको सन्दर्भमा अझै केही समय लाग्छ ।’

सल्यान, १५ मंसिर ।

सल्यानका भूमिही तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमि आयोग र जिल्लाका दश वटै स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन लगायत काम अगाडि बढिरहेको र केही पालिकाले काम अन्तिम चरणमा पु¥याएकाले लालपुर्जा वितरणको तयारी गरिएको हो । जिल्लाका दश पालिकामध्ये त्रिबेणी गाउँपालिका र कालिमाटी गाउँपालिकाले काम तिव्र पारेका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिती सल्यानका अध्यक्ष बिर बहादुर सेजवालले त्रिबेणी गाउँपालिकाका भूमिहिन दलित र भूमिहीन सुकुम्बासीको लागि मंसिर महिनाभित्रमा लालपुर्जा वितरण गरिसक्ने बताउनुभयो । ‘जग्गा नापजाँच भएर लालपुर्जा अन्तिम चरणमा छन्, मन्त्रालयले आवश्यक कर्मचारी पठाइदियो भने मंसिर महिनाभित्रमा भूमिहिन दलित र भूमिहीन सुकुम्बासीको लागि लालपुर्जा वितरण गर्छौ’ उहाँले भन्नुभयो ‘अव्यवस्थित बसोबासीको सन्दर्भमा अझै केही समय लाग्छ ।’

कालिमाटी गाउँपालिकामा लगत संकलन गरेर कम्प्युटरमा इन्ट्रि भैसकेको र अव नाचजाँच गर्न बाँकी रहेको उहाँको भनाइ छ । जसमध्ये त्रिबेणी गाउँपालिकामा भूमिहीन दलित १७, भूमिहीन सुकुम्बासी १२ र अव्यवस्थित बसोबासी एक हजार ६७ छन् । यस्तै कालिमाटी गाउँपालिकामा भूमिहीन दलित ५०, भूमिहीन सुकुम्बासी २८ र अव्यवस्थित बसोबासी दुई हजार ६ सय ३९ छन् ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासी भन्नाले कहीँ–कतै लालपुर्जा नभएकालाई जनाउँछ । देशभर कहीँ–कतै लालपुर्जा भएको जमिन भएका तर लामो समयदेखि सरकारी ऐलानी जग्गा जोतभोग गरी बसेका वा यस्तो जग्गा अर्कोसँग किनेर लामो समयदेखि बसेका छन् भने उनीहरूलाई अव्यवस्थित बसोबासी भनिन्छ । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई सरकारले निःशुल्क जग्गा दिन्छ ।

जिल्लाका केही पालिकाले लगत संकलनको काम थालेका र केही पालिकाले प्रक्रिया नै अघि नवढाएकाले जिल्लामा कतिले लालपुर्जा पाउँछन् भन्ने तथ्यांक नभएको राष्ट्रिय भूमि आयोग जिल्ला समिती सल्यानले जनाएको छ । स्थानिय तहको सक्रियतामा बास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर अगाडी बढ्न सके भूमिको समस्या सधैँका लागि समाधान हुने अध्यक्ष सेजवालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित