सल्यान, २० मंसिर ।
सल्यानमा प्रांगारिक कृषि कृषक पाठशाला सञ्चालन गरिने भएको छ । पछिल्लो समयमा विभिन्न प्रजातीको रोगका कारण सुन्तलाको बोट सुक्ने र उत्पादन घट्दै गैरहेकोले विषादीमुक्त पोषिला खानेकुरा उत्पादन र प्रयोगमा जोड दिनको लागि जिल्लामा कृषक पाठशाला सञ्चालन गरिने भएको हो । कर्णाली प्रदेश सरकार, भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोग र कृषि विकास कार्यालय सल्यानको सहजीकरणमा जिल्लामा उत्पादन भैरहेको सुन्तलाखेतीमा कृषक पाठशाला सञ्चालन गरिने छ ।
नमुनाको रुपमा जिल्लाको बागचौर नगरपालिकाको कोटमौलाका २५ जना कृषकलाई आवद्ध बनाइ कृषि पाठशाला सञ्चालन गरिने भएको हो । जिल्लामा सुन्तला उत्पादन राम्रो हुने भएकाले यसलाई प्रांगारिक बनाउनको लागि पाठशाला सञ्चालन गरिने कृषि विकास कार्यालय सल्यानका प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । यसका लागि प्रदेश सरकारले यसबर्ष जिल्लामा तीन लाख रुपैँया पठाएको छ ।
‘रासायनिक मल र बिषादीलाई कम गर्दै प्रांगारिक मल र जैविक बिषादीको प्रयोग गरेर सुन्तलाखेती गरिने छ, यसै महिनाको अन्त्यतिरमा समिती गठन गर्छौ, पुस महिनादेखी कार्यक्रम लागु हुन्छ, सुन्तला उत्पादनलाई बढाउनको लागि पाठशाला सञ्चालन गर्दैछौँ’ उहाँले भन्नुभयो ‘बोट सुक्ने, कम फल्ने, साना दाना लाग्ने जस्ता समस्या हल हुन्छन्, उत्पादनमा उल्लेख्य बृद्धि हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले यसबर्ष सल्यानमा परिक्षणका लागि सुन्तलामा कृषक पाठशाला सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘यसअघि कर्णाली प्रदेशका जुम्ला, दैलेख, मुगु, सुर्खेतमा लागु भएको थियो, यसले उत्पादनमा राम्रो बृद्धि गरेको छ, त्यसैले नमुनाको लागि यसबर्ष प्रदेशका अरु जिल्लामा पनि परिक्षण थालेका हौँ’ उहाँले भन्नुभयो ‘परम्परागत र बिषादीयुक्त भन्दा पनि प्रांगारिक उत्पादनमा जोड दिन्छौँ ।’
मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेले कृषिक्षेत्रको उत्पादनलाई दिगो बनाउनको लागि पाठशाला सञ्चालन गरिरहेको बताउनुभयो । कर्णालीमा अर्गानिक कृषिको आधार तथा सम्भावना, भौगालिक बनावट र खेती प्रविधि, कृषि जैविक विविधता, प्रांगारिक उत्पादन र प्रमाणीकरणमा रैथाने बालीको सम्भावना, अर्गानिक प्रदेश निर्माणको तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका निर्माण गरिएको उहाँको भनाइ छ ।
यहाँको अर्गानिक कृषि विकास योजना तथा रणनीति कार्यान्वयमा तीन तहबीचका सरकारहरुको समन्वय तथा सहकार्य अपरिहार्य रहेको उहाँले बताउनुभयो । ‘गाउँका स्थानीयलाई बिषादीरहित पोषिला खानेकुरा उत्पादन कसरी गर्न सकिन्छ र यी उत्पादनको प्रयोगले मानव स्वास्थ्यमा कस्तो खालको सुधार ल्याउछ भन्नेबारे पाठशाला सञ्चालन हुन्छ’ उहाँले भन्नुभयो ‘बिउ उमार्नेदेखि भण्डारणसम्म र बिउ लगाउने उपयुक्त जग्गा तथा माटो छनौट समेतको आधारभूत जानकारी दिन्छौँ ।’
यसैविच भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ऐन तथा नियमावली सम्बन्धि छलफल तथा अभिमुखिकरण र कृषि विकास कार्यालय सल्यानको आयोजनामा पालिकामा कार्यरत कृषि शाखा प्रमुख र तथा अन्य सरोकारवालाहरुसँग समन्वयात्मक कार्यक्रम मंगलबार खलंगामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण पुर्ण थापाले गर्नुभएको थियो ।