बालविवाहलाई घर परिवार र समुदायले स्वीकार गर्दा समस्या : मन्त्री ज्वाला

‘समाजमा अझै पनि बालविवाह भैरहेको पाइन्छ, बालविवाह हुनुका थुपै्र कारण छन्, बालविवाहले समाजको भलो गर्दैन्, जसले बालविवाह गर्छ उसको भबिष्य डामाडोल हुन्छ, यसले शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका थुपै्र कुरामा असर गर्छ’ उहाँले भन्नुभयो ‘बालविवाहकै कारण आत्महत्या सम्मको अवस्था सिर्जना भएको पाइन्छ ।’

सल्यान, २३ मंसिर ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालविवाहलाई परिवार र समुदायले स्वीकार गर्दा न्युनिकरणमा समस्या भएको बताउनुभएको छ । उहाँले कानुनमा नै बालविवाह गर्न नपाईने तथा बालविवाह गर्ने गराउनेलाई कारवाही गर्ने उल्लेख पनि समाजमा अझै बालविवाह लुकिछिपि हुने गरेको र उमेर नपुगेर गरिने विवाहलाई परिवार र समाजले स्वीकार गर्दा न्युनिकरण गर्न समस्या भएको बताउनुभएको हो ।

बालविवाह बिरुद्धको साझा अभियान सञ्जाल सल्यानको आयोजना, आवाज सुर्खेतको सहयोग र दलित विकास समाज सल्यानको व्यवस्थापनमा शुक्रवार सल्यान खलंगामा सञ्चालित बालविवाह बिरुद्ध सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बालविवाह समाजको बिकृति भएकाले यसलाई रोकथाम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

‘समाजमा अझै पनि बालविवाह भैरहेको पाइन्छ, बालविवाह हुनुका थुपै्र कारण छन्, बालविवाहले समाजको भलो गर्दैन्, जसले बालविवाह गर्छ उसको भबिष्य डामाडोल हुन्छ, यसले शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका थुपै्र कुरामा असर गर्छ’ उहाँले भन्नुभयो ‘बालविवाहकै कारण आत्महत्या सम्मको अवस्था सिर्जना भएको पाइन्छ ।’ बालविवाह रोकथाम गर्न कानुनी प्रबन्ध गर्नुका साथै सरकारी तथा गैरसरकारी क्षेत्रबाट यसको रोकथामका लागि थुप्रै प्रयासहरु भइरहे पनि अझैं पनि बालविवाहको चुनौति कायमै रहेको उहाँको भनाइ छ ।

मन्त्री ज्वालाले बालविवाह रोक्नका लागि तीनै तहका सरकारका विचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘बालविवाहका कारण बालिकाको मात्रै नभएर बालकको शारीरिक, मानसिक अवस्थामा असर पर्ने गरेको छ, विवाहबारे शारीरिक र मानसिक रुपमा तयार नभएका अवोध बालबालिकाहरु विवाहबन्धनमा बाधिदा उमेर बढ्दै जादा थुप्रै खालका जटिलता र समस्याहरु सिर्जना हुने गरेको अनगिन्ती उदाहरण छन््’ उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख असविर बुढाथोकीले जिल्लामा बालविवाहको अवस्था भयाभह रहेकाले स्थानिय तह विशेष रुपमा लाग्नुपर्ने बताउनुभयो । ‘जिल्लामा बालविवाह उच्च छ, बाहिर नआएको मात्रै हो’ उहाँले भन्नुभयो ‘कपुरकोट गाउँपालिकाले उमेर पुगेकाले पनि विवाह गर्दा वडाबाट शुभकामना सहितको सिफारिस अनिवार्य गरेको छ, अरु पालिकाले पनि यस्ता खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’

जिल्लामा बालविवाह न्युनिकरणमा उल्लेख्य कमी आउन नसकेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । तथ्यांक अनुसार कर्णाली प्रदेशभर ७२ दशमलव ५० प्रतिशत बालविवाह रहेकोमा सल्यानमा मात्रै ७५ दशमलव ७६ प्रतिशत बालविवाह रहेको छ । बालविवाह बिरुद्धको साझा अभियान सञ्जाल सल्यानका संयोजक निम बहादुर नेपालीले जुनसुकै कारणले भए पनि बालविवाहलाई समाजको कुनै पनि पक्षले अमान्य गर्नेतर्फ गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो ।

परिवारभित्रै बालविवाहले पछि सिर्जना गर्ने समस्या र जटिलताबारे बहस गर्ने, अभिभावकले छोराछोरीलाई यसबारे समय–समयमा सचेत गर्ने, विद्यालयमा विद्यार्थीहरुमाझ बालविवाहले सिर्जना गर्ने समस्याबारे खुलेर बहस गर्ने वातावरण निर्माण गर्नेदेखि बालविवाहका कारणपछि सिर्जना भएका समस्याको तथ्यगत कथाहरुबारे जानकारी दिने लगायतका कार्यहरुलाई नियमित रुपमा सञ्चालन गरिनुपर्ने उहाँको भनाइ छ ।

बालविवाह बिरुद्धको साझा अभियान सञ्जाल सल्यानले जिल्लाको कपुरकोट गाउँपालिका, त्रिबेणी गाउँपालिका र शारदा नगरपालिकामा काम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस