बागचौर नगरपालिकाले करारका तीन प्राविधिक सहित पाँच कर्मचारी हटायो : सम्झौता र इष्टिमेटका काम प्रभावित

‘वार्ता र सम्वादको परिस्थिती नहुदासम्म योजना सम्झौता, प्राविधिक इष्टिमेट लगाएतका विकास निर्माणसँग सम्बन्धित कार्यहरु नगर्ने र दैनिक प्रशासनिक कार्यहरु यथावत रुपमा सञ्चालन गर्नेकुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौँ’ जारी बिज्ञप्तीमा भनिएको छ ।

सल्यान, २७ मंसिर ।
सल्यानको बागचौर नगरपालिकाले नगरमा कार्यरत करारका पाँच जना कर्मचारी हटाएको छ । अघिल्लो स्थानिय सरकारको पालामा नियुक्त भएका तीन प्राविधिक र दुई कार्यालय सहयोगीलाई मंसिर २४ गते बसेको नगरकार्यपालिकाको बैठकले हटाएको हो । जसमा सव–इन्जिनियरहरु खकेन्द्र वली, प्रेम कवर र नरिभान विक रहेका छन् भने माली कमला भण्डारी र कार्यालय सहयोगी बिमला डाँगीलाई हटाउने कार्यपालिका बैठकले निर्णय गरेको हो । नगर प्रबक्ता दिपेश डिसीले पहिले पनि सचेत बनाइएको र सन्तोषजनक काम नभएकाले तीन जना प्राविधिक र दुई जना कार्यालय सहयोगीलाई करार सम्झौता थप नगर्ने निर्णय गरिएको बताउनुभयो ।

नगरप्रमुख जनकराज गौतमले कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई केहि महिना पहिले देखी नै सचेत गराइएको र कार्यसम्पादनमा सुधार नभएकाले करार सम्झौता थप नगर्ने निर्णय भएको जानकारी दिनुभयो । ‘कार्यसम्पादनलाई सुधार गर्न बेलाबेलामा सचेत बनाउदैँ आएका थियौँ, कार्यालयमा नआउने, आएपनि काम नगर्ने, राजनिति गर्ने, सेवाग्राहीको सजिलोसँग काम नगर्ने कर्मचारीलाई म्याद नपर्ने निर्णय भएको हो’ नगरप्रमुख गौतमले सल्यान टुडेलाई भन्नुभयो ‘कार्यसम्पादन नै राम्रो नभएका कर्मचारी हटाउने निर्णय भएको हो, अहिले पनि नगरपालिकामा करारका थुप्रै कर्मचारी हुनुहुन्छ, तर उहाँहरुको त असारमा नै म्याद थप नगर्ने कुरा उठेको थियो, सुधार हुन्छ कि भनेर केही महिना म्याद थप भयो, तर सुधार भएन् ।’

यता नगरकार्यपालिका बैठकले करारका केही कर्मचारी हटाउने निर्णय गरेसँगै कर्मचारीले विरोध जनाएका छन् । नगरमा कार्यरत स्थायी तथा करारका कर्मचारीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनता र कर्मचारीको अभिभावकको रुपमा रहनुपर्ने स्थानिय सरकारले बिना कारण, पुर्व जानकारी नगराई कर्मचारीको रोजिरोटी खोस्नुले कर्मचारी त्रसित र भयभित भै काम गर्ने बातावरण नै प्रतिकुल बनेको जनाएका छन् । नगरसभाले गरेको निर्णय फिर्ता लिई बार्तामार्फत समस्याको समाधान खोज्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

‘वार्ता र सम्वादको परिस्थिती नहुदासम्म योजना सम्झौता, प्राविधिक इष्टिमेट लगाएतका विकास निर्माणसँग सम्बन्धित कार्यहरु नगर्ने र दैनिक प्रशासनिक कार्यहरु यथावत रुपमा सञ्चालन गर्नेकुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौँ’ जारी बिज्ञप्तीमा भनिएको छ ।

करार सेवामा कार्यरत सव–इन्जिनियर खकेन्द्र वलीले नगरकार्यपालिकाको निर्णयले आफुहरु आश्चार्यमा परेको बताउनुभयो । ‘हामीलाई हटाउने निर्णयका बारेमा हिजो मात्रै थाहा पायौँ, पुर्व जानकारी विना नै करार सेवाबाट हटाइनु राम्रो होइन्, कर्मचारीको काम सन्तोषजनक नभए सचेत बनाउनुपर्ने, सुधारका लागि मौका दिनुपर्नेमा एक्कासी सेवाबाट हटाउनु दुखद हो’ उहाँले भन्नुभयो ।

कर्मचारीले निकालेको बिज्ञप्ती :

 

प्रतिक्रिया दिनुहोस