सल्यान, २९ मंसिर ।
सल्यानका एक लाख बढी नागरिकलाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । जिल्लामा बसोबास गर्ने १६ देखी ४५ बर्ष उमेर समुहका एक लाख एघार हजार नागरिकलाई टाइफाइड विरुद्धको खोप दिइने भएको हो । भुकम्प प्रभावित जिल्लामा खोप अभियान अन्र्तगत यही पुस ९ गतेदेखी १३ गतेसम्म पहिलो चरणमा र पुस २३ गतेदेखी २७ गतेसम्म दोस्रोचरणमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
जसमा पुस ९ गतेदेखी १३ गतेसम्म कपुरकोट गाउँपालिका, त्रिबेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कालिमाटी गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, शारदा नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा टाइफाइड विरुद्ध टिसिभि खोप दिइने छ । यस्तै पुस २३ गतेदेखी २७ गतेसम्म दार्मा गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिकामा खोप दिइने छ ।
यसका लागि करिब ५ सय बढी खोप केन्द्र रहने छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले भुकम्प प्रभावित क्षेत्रमा खाना, पानी, शौचालयको उचित व्यवस्थापन नहुनु र सरसफाईको कमी लगाएतका कारणले टाइफाइडको जोखिम रहेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘यो खोप ५ बर्षमुनीका बालबालिकालाई दिइन्छ, सरकारले नै अहिले १६ देखी ४५ बर्ष उमेर समुहका सबै नागरिकलाई दिने अभियान सञ्चालन गरेको छ’ उहाँले भन्नुभयो ।
उच्च ज्वरो, जाडो हुने, पसिना आउने, पेट दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने, सुरुवाती अवस्थामा पखाला चलेर पछि कब्जियत देखिने, छातीको तल्लो भाग र पेटमा हल्का रातो उठेको बिमिराहरु बिरामी भएको सातदेखि १० दिनमा देखापर्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण टाइफाइडका कारण देखिने उहाँको भनाइ छ ।
‘राम्रोसँग पकाएको खाना मात्र खाने र खानेकुरालाई छोपेर राख्ने, बासी सडेगलेका र झिङ्गा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको प्रयोग गर्ने, सफा चर्पीको प्रयोग गर्ने, मुख्य भनेकै टाइफाइडविरुद्धको खोप लगाउने हो’ डा. बुढाले भन्नुभयो ‘दार्मा गाउँपालिका त भुकम्प प्रभावित भयो नै, जिल्लाका अरु पालिकाका नागरिकका लागि पनि यो खोप महत्वपुर्ण र अनिवार्य छ ।’
गर्भवती र स्तनपान गराइरहेका महिला, एड्स भएको अवस्थामा, उच्च ज्वरो र सिकिस्त बिरामी भएको अवस्थामा खोप लगाउन नहुने उहाँको भनाइ छ । ‘हामीले दश वटै पालिका, सबै वडा र महिला स्वास्थ्य स्वयम्सेविकासम्म पुगेर खोपका बारेमा अभिमुखिकरण गर्छौ, लक्षित समुहमा रहेका कोही पनि नागरिक छुट्नु हुदैन् भन्ने हाम्रो ध्येय छ’ उहाँले भन्नुभयो ।
अभियान सञ्चालन बारे जिल्ला खोप समन्वय समितीलाई अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले पहिले बच्चाका लागि मात्रै दिदैँ आएको खोप यो पटक सल्यानका १६ देखी ४५ बर्ष उमेर समुहका नागरिकलाई अभिवार्य भएको बताउनुभयो । चिसोका कारण नागरिक प्रभावित भैरहेको अवस्थामा यो टाइफाइड बिरुद्धको खोप अभियान प्रभावकारी हुने उहाँको भनाइ छ ।
जिल्ला समन्वय समितीका उपप्रमुख असविर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला अस्पताल व्यवस्थापन तथा सञ्चालन समितीका अध्यक्ष प्रमोद श्रेष्ठले सबै टोल बस्तीस्तरमा पुगेर खोप अभियानमा सबै नागरिकलाई समेट्नुपर्ने बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरिक्षक तारा रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सुचना अधिकारी थलराज डिसीले गर्नुभएको थियो ।