सल्यान, १ पुस ।
जिल्ला अस्पताल सल्यानबाट नै अक्सिजन उत्पादन गर्न थालिएको छ । अघिल्लो आर्थिक बर्षमा संघीय सरकारको ७१ लाख अनुदानमा ४० लिटरको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरिएपनि अक्सिजन उत्पादन हुन सकेको थिएन् । यही मंसिर २५ गतेबाट भने अक्सिजन प्लान्टबाट नियमित अक्सिन उत्पादनको काम भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
गत बैशाख १४ गते बिद्युत्को भोल्टेज नपुगेकाले ‘थन्कियो अक्सिजन प्लान्टः उत्पादन भन्दा खर्च धेरै’ शिर्षकको समाचार सल्यान टुडेमा प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि बिभिन्न निकायको पहल र प्रयासबाट जिल्ला अस्पतालमा रहेको ५० केभिको ट्रान्सफर्मर हटाएर १०० केभिको ट्रान्सफर्मर जडान गरेसँगै अक्सिजन उत्पादन सुरु भएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले अहिले जिल्ला अस्पतालमा अक्सिजन प्लान्टबाट नियमित अक्सिजन उत्पादन भैरहेको बताउनुभयो । विगतमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपनि बिद्युत्को भोल्टेज कम हुदा उत्पादन हुन सकेको थिएन् । जेनेरेटरबाट चलाउदा खर्च धान्न मुश्किल परेपछि केही महिना अक्सिजन प्लान्ट त्यसै थन्किएको थियो ।
‘अक्सिजन प्लान्ट जडान गरेपछि बिरामीका आफन्त लगायत सम्बन्धित निकायले खाली सिलिन्डर रिफिल गर्न दाङ, नेपालगन्ज, सुर्खेत, बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी भएका थिए, विचमा बिद्युत्को भोल्टेजका कारण केही महिना उत्पादन बन्द भयो, अहिले नयाँ ट्रान्सफर्मर जडान गरेर अक्सिजन उत्पादन भैरहेको छ’ डा. बुढाले भन्नुभयो ‘सिलिण्डर रिफिल गर्नका लागि अव जिल्ला बाहिर जानुपर्दैन् ।’
जिल्लामा अक्सिजनको माग धेरै
जिल्ला अस्पताल १५ शैयाको भएपनि बिरामीको चापका कारण ३७ बेडमा सञ्चालन भैरहेको छ । अस्पतालमा अहिले दैनिक १ सय ५० बढी विरामी उपचारका लागि आउँछन् । चिसो बढेसँगै रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । खास गरेर दम, निमोनिया, मुटु तथा फोक्सो सम्बन्धि समस्या भएका विरामीलाई अक्सिजन बढी मात्रामा चाहिन्छ । श्वासप्रश्वास सम्बन्धि समस्या भएका दिर्घ रोगीका लागि त झन् घरैमा अक्सिजन सिलिण्डर राख्ने गरेको पाइन्छ ।
कार्यालयका प्रमुख डा. बुढाले जिल्लामा अक्सिजनको माग बढेको बताउनुभयो । ‘शरीरका भित्री अंगहरुले सही ढंगले कार्यसंचालन गर्न र गराउनका लागि अक्सिजनको उपस्थिती चाहिन्छ, शरीरमा अक्सिजनको आपूर्ति रगतको माध्यमबाट हुन्छ, जब शरीरमा पर्याप्त अक्सिजन पुग्छ, शरीर निरोगी हुन्छ, तन्दुरुस्त हुन्छ, जसरी पोषिलो खाना, शुद्ध पानीको आवश्यक हुन्छ, जीवनका निम्ति त्यो भन्दा बढी अक्सिजन आवश्यक हुन्छ’ उहाँले भन्नुभयो ।
उहाँले अहिले अक्सिजन प्लान्टले दैनिक ८/१० वटा अक्सिजन सिलिण्डर रिफिल गर्दै आएको बताउनुभयो । ‘बत्ती बेला–बेलामा जाँदा अलि समस्या हुन्छ, हामीले अस्पतालमा खाली भएका सबै सिलिण्डर रिफिल गर्दैछौँ’ उहाँले भन्नुभयो ‘अव अक्सिजनको अभाव हुदैँन् ।’