सल्यान, २ पुस ।
सल्यानमा एक बर्षको अवधिमा मानवअधिकार उलंघन तथा ज्यादतीका ९४ वटा घटना भएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को प्रकाशनका लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा मानवअधिकार हनन्का ९४ वटा घटना भएका जनाइएको हो ।
इन्सेक सल्यानद्धारा सोमबार खलंगामा आयोजित कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । जसमा सबै भन्दा धेरै माहिला तथा बालबालिकामाथि ज्यादतीका घटना हुने गरेको पाइएको छ । इन्सेक जिल्ला प्रतिनिधि बुद्धिमान पुनले जिल्लामा बालअधिकार उलंघनका घटनामा १० जना बालिका र महिला अधिकार उलंघनका घटनामा ६९ जना महिला पिडित भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाभर कुटपिटका ५ वटा घटना भएका छन् । जसमा ३ जना महिला र २ जना पुरुष पिडित भएका छन् । यस्तै हत्याका १० वटा घटना भएका छन् भने बालअधिकार तर्फ बलात्कारका ९ वटा र यौन दुव्र्यवहारका १ वटा घटना भएका छन् । यस्तै महिला अधिकार तर्फ घरेलु हिंसाका ३८ वटा, बहुविवाहका १६ वटा, बलात्कारका १४ वटा र बोक्सी आरोपका १ वटा घटना भएका छन् ।
उहाँले जिल्लामा विभिन्न क्षेत्रले सक्रियताका साथ काम गर्दैआएको भएपनि मानवअधिकार हनन् र ज्यादतीका घटनामा कमी आउन नसकेको बताउनुभयो । उहाँले घरेलु हिंसा र बलात्कारका घटना जिल्लामा धेरै देखिएकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै पिडितलाई न्याय तथा पिडकलाई कानुनी दायरामा ल्याउन सबैको भूमिका महत्वपुर्ण भएको बताउनुभयो ।
बार्षिक घटना समिक्षा कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काले मानवअधिकारको रक्षाको लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मानव अधिकार हनन् कसरी रोक्ने भन्ने चुनौतीको बिषय भएको भन्दै उहाँले टोलबस्तीमा पुगेर सचेतीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
जिल्ला अदालत सल्यानका श्रेष्तेदार नारायण प्रसाद चापागाईले आमाबुवाको सम्बन्ध विच्छेद पश्चात बालबालिका पिडित भएका घटना धेरै हुनेगरेकाले उनीहरुको उचित व्यवस्थापनका लागि पहल गरिनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपि नविन कार्कीले जघन्य घटनाका पिडितहरुको नाम सार्वजनिक गर्दा उसको व्यक्तिगत जीवनमा असर पर्ने भएकाले यसलाई सुधार गरेर अघिबढ्नुपर्ने बताउनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालय सल्यानका सहायक जिल्ला न्यायाधिबक्ता बिष्णु प्रसाद गौलीले बिभिन्न घटनाका पिडित घरदेखी उजुरी दिनका लागि सम्बन्धित कार्यालयमा आउन्जेल सम्म उसको कुरा बदलिने गरेको पाइएकाले कानुनी पराशर्म दिन आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार रक्षक सञ्जाल सल्यानका संयोजक मुना हमालको अध्यक्षतामा भएको कार्यक्रममा कारागार कार्यालय सल्यानका जेलर भिम बहादुर घर्ती, अधिबक्ता बिष्णु शर्मा, मानवअधिकारकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।