सल्यान, ४ पुस ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारविचको समन्वयले संघीयता बलियो हुने बताउनुभएको छ । उहाँले संघीयताका कारण वजेट, बिकास निर्माण, सेवा सुविधामा आमनागरिकको पहुँच स्थापित भएकाले तीनै तहका सरकारविचको समन्वय र सहकार्य हुदाँ संघीयता बलियो हुने बताउनुभएको हो । संघीयता काठमाण्डौँलाई नभई कर्णालीलाई चाहिएको उहाँको भनाई छ ।
जिल्ला समन्वय समिती सल्यानको आयोजनामा बुधबार जिल्लाको सदरमुकाम खलंगामा आयोजित चौथो जिल्ला सभा तथा आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । ‘यसबर्ष संघ र प्रदेशबाट सल्यानमा हालसम्मकै धेरै बजेट आएको छ, अव वजेटको सफल कार्यान्वयन आवश्यक छ’ उहाँले भन्नुभयो ‘हिजोका दिनमा केन्द्रबाट सिमित मात्रामा वजेट आउँथ्यो, अहिले संघ, प्रदेश र स्थानिय तहमा अर्वौको वजेट छ, वजेटको सहि सदुपयोग गर्दै सफल कार्यान्वयनमा जोड दिऔँ ।’
उहाँले राजनितिक, धार्मिक, आर्थिक, जातीय, क्षेत्रिय वा अन्य कुनै कारणले विभेद नगरेर अघि बढ्न सके वजेटको सहि सदुपयोग हुने र द्रुत गतिमा विकासका काम अघि बढ्ने बताउनुभयो । ‘अझै हाम्रो कार्यकाल बाँकी छ, यो विचमा संघ, प्रदेश र स्थानिय तहका विचमा सहकार्य गरौँ, समन्वय गरौँ, एकले अर्काको अस्तीत्व स्वीकार गरौँ, सल्यानलाई विकसित र समृद्ध हामीले नै बनाउने हो, त्यो शंकल्पका साथ अघि बढौँ’ मन्त्री ज्वालाले भन्नुभयो ।
अहिले सल्यानमा वजेटको समस्या नभइ कार्यान्वयनको समस्या भएको बताउनुभयो । ‘राप्ती राजमार्गको काम तत्कालै अघि बढाउन प्रक्रियामा गएको छ, मदन भण्डारी राजमार्गको श्रीनगर खलंगा हुदैँ बालुवासंग्रही जोड्नको लागि जग्गा प्राप्तीको पहल भैरहेको छ, यसमा स्थानिय तहले सहयोग गर्नुपर्छ, वजेट समेत सुनिश्चित भएको अवस्थामा मदन भण्डारी राजमार्गको सल्यान खण्डको काम तत्कालै अघि बढाउनुपर्छ’ उहाँले थप्नुभयो ।
कार्यक्रममा बोल्दै सल्यान प्रदेशसभा ख बाट निर्वाचित प्रदेशसभा सदस्य सुरेश अधिकारीले विकास निर्माणका कार्यमा जनसहभागिता अपरिहार्य भएको बताउनुभएको छ । पछिल्लो समय रोजगारीकै खोजीमा कयौँ युवाहरु विदेशिने क्रम बढेकाले युवाशक्तिलाई विकासमा परिचालन गर्न सके बिकास र रोजगारी दुवै प्राप्ति गर्न सकिने उहाँको भनाइ छ ।
‘अहिले पनि विकासमा राजनिति भैरहेकाले यसलाई रोक्न आवश्यक छ, प्रदेश र स्थानिय तहका विचको सहकार्य अझै बढाउनुपर्छ, सरकार–सरकारविचको सम्बन्ध राम्रो भएमा मात्रै संघीयताको सफल कार्यान्वयन हुन्छ’ उहाँले भन्नुभयो ।
जिल्ला समन्वय समितीका कार्यवाहक प्रमुख अशविर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बोल्नुभएको थियो ।
यस्तै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, बागचौर नगरपालिका उपप्रमुख सुम्निमा डिसी वली, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महत, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले बोल्नुभएको थियो । जिल्ला समन्वय समितीका सदस्य हरि केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नायव सुब्बा दल बहादुर गिरीले गर्नुभएको थियो ।
बुधबारबाट शुरु भएको जिल्लासभा विहीबार सम्म चल्ने छ ।