सल्यान, ५ पुस ।
सल्यानको कपुरकोट गाउँपालिकामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार गाउँपालिकामा यही पुस ९ गतेबाट १३ गतेसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो ।
भूकम्प प्रभावित जिल्लामा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न थालिए पछि कपुरकोट गाउँपालिकामा पनि टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
कपुरकोट गाउँपालिका भित्रका १७ हजार ५ सय ७६ जना जनसङ्ख्या मध्ये १६ बर्ष देखि ४५ बर्ष सम्मका ८ हजार १ सय ४६ जनालाइ टाइफाइड विरुद्धको खोप लगाइने लक्ष्य रहेको छ । गाउँपालिकाको ६ वडामा २६ वटा खोप केन्द्र बनाएर टाइफाइड विरुद्धको खोप लगाइने अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।
भूकम्प पछि बिभन्न महामारी जन्य रोग लाग्न सक्ने सम्भावना रहेकाले टाइफाइड विरुद्धको खोप लगाउन लागेको स्वास्थ्य शाखा प्रमुख सुवाश हमालले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, सबै वडाका वडाअध्यक्षहरु, स्वास्थ्य क्षेत्रका प्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।