सल्यान, ७ पुस ।
सल्यानमा यसबर्ष किवि उत्पादन घटेको छ । जिल्लामा किवि खेतीको क्षेत्रफल बढ्दै गएको भएपनि समग्रमा जिल्लाको उत्पादन घटेको हो । बर्षेनी किवि खेती गर्ने कृषकको संख्या बढ्दै गैरहेको छ । किवि खेती गर्ने क्षेत्रफलको विस्तार र किविका नयाँ बोटहरुले पनि उत्पादन दिन थालेका छन् । तर किविको लागि चाहिने हिउदेँ बर्षात नहुदा जिल्लामा किवि उत्पादन घटेको कृषक बताउँछन् । गतबर्ष किविका बोटमा लटरम्म किवि फलेका थिए ।
कृषकलाई किविको स्याहार गर्न, किवि टिप्न भ्याइनभ्याई थियो । पाकेका किविले व्यापारी पर्खिरहेका हुन्थे । किविको वजार भाउ पनि राम्रो गएको थियो । यसबर्ष भने जिल्लामा किविको उत्पादन मात्रै कम भएन, भाउ पनि राम्रो नपाएको कृषक बताउँछन् । गत बर्ष जिल्लाभर करिब ७० टन किवि उत्पादन भएपनि छत्रेश्वरी गाउँपालिकाको बुँरासेमा मात्रै ४० टन बढी किवि उत्पादन भएको थियो । तर यसबर्ष भने किविको उत्पादन र मुल्यमा कमी आएको कृषक बताउँछन् ।
छत्रेश्वरी गाउँपालिका–२ बुँरासेका कृषक तेज बहादुर योगीले यसबर्ष करिब ४० क्विन्टल मात्रै किवि उत्पादन भएको बताउनुभयो । उहाँका अनुसार गतबर्ष एक सय २० क्विन्टल किवि उत्पादन भएको थियो । ‘गतबर्षको भन्दा झण्डै तीन गुणा कम किवि उत्पादन भएको छ, पोहोर धेरै फलेको थियो, ६० क्विन्टल बढी किविको वाइन मात्रै बनाएको हुँ, अहिले त कम फल्यो’ उहाँले भन्नुभयो ‘यसपालि किविको मुल्य पनि राम्रो गएन् ।’
किवि कम फलेकाले बेलैमा बिक्री भैसकेको उहाँको भनाइ छ । ‘स्थानिय वजारमा किवि भए पुग्यो, दाना ठुलो सानोको वास्ता हुदैन्, तर पोखरा, बुटवल लगाएतका वजारमा लिदा ग्रेडिङ अनुसारको मुल्य प्राप्त हुन्छ’ उहाँले भन्नुभयो ‘उत्पादन कम हुदा यसबर्ष आम्दानी कम हुने नै भयो, करिब ७ लाख आम्दानी भएको आँकलन गरेको छु ।’ उहाँले करिब ३५ रोपनी क्षेत्रफलमा किवि खेती गर्दै आउनुभएको छ ।
थारै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि किवी खेतीतर्फ हौसिएका कृषक अहिले केही निरास बनेका छन् । उहाँले किविखेतीबाट प्रति कृषकले एक लाख देखी सात लाख सम्म आम्दानी गर्दै आएको बताउनुभयो । तर गतबर्षको भन्दा यसबर्ष उत्पादन र मुल्य दुबै घटेको उहाँको भनाइ छ । जिल्लामा करिब एक दशकयता किवि खेती गर्न थालिएको छ ।
जिल्लामा झण्डै १० हजार किविका बोट छन् । गतबर्ष न्युनतम २ सय रुपैँया प्रतिकेजीका दरले किवि बेचेका कृषकले यसबर्ष प्रतिकेजी १५० रुपैँया भन्दा बढी मुल्य पाउन सकेनन् । किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवीखेतीको राम्रो सम्भावना रहेपनि उत्पादन र मुल्यमा आउने घटबढले कृषकलाई समस्या हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।
किवी खेतीलाई प्रवद्र्धन गर्न अर्गानिक खेतीमा जोड दिदैँ लेबलिंग र प्याकेजिंगसँगै प्रांगारिक मल, भकारो सुधार, बेर्ना उत्पादन लगाएतमा सहयोग गरेको उहाँको भनाइ छ । जिल्लामा उत्पादन भएको किवि दाङ्ग, सुर्खेत, नेपालगंज, बुटवल, पोखरा, काठमाण्डौ सम्म निर्यात हुदैँ आएको छ ।