जिल्ला टेवुल टेनिस संघ सल्यानको अध्यक्षमा शाह

खेलक्षेत्रमा खेलाडी मात्रै नभएर खेलप्रेमी पनि उत्साहित भएकाले खेल गतिविधि निरन्तर अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

सल्यान, ८ पुस ।
जिल्ला टेवुल टेनिस संघ सल्यानको अध्यक्षमा सन्तोष शाह निर्वाचित हुनुभएको छ । आइतवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको साधारणसभा तथा निर्वाचनले शाहको अध्यक्षतामा ७ सदस्यीय नयाँ जिल्ला कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा प्रज्वल अधिकारी, सचिवमा दिपेश राना र कोषाध्यक्षमा कृष्णा बुढाथोकी रहनुभएको छ । यस्तै सदस्यहरुमा सुनिल बिश्वकर्मा, घमण्ड वली र अनिल सिंह रहनुभएको छ ।

निर्वाचन अघि भएको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला खेलकूद विकास समिती सल्यानका कार्यालय प्रमुख शिवराज अधिकारीले खेल स्वास्थ्यका लागि अपरिहार्य भएकाले सवै विधाका खेलाडीहरुलाई प्रोत्साहन गरिनुपर्ने बताउनुभयो । खेलक्षेत्रमा खेलाडी मात्रै नभएर खेलप्रेमी पनि उत्साहित भएकाले खेल गतिविधि निरन्तर अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

यस्तै जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले बर्षेनी विभिन्न विधाका खेलमा नयाँ खेलाडीहरुको प्रवेश भैरहेकाले खेलाडीलाई खेलक्षेत्रमा नै टिक्ने वातावरण सिर्जना गरिनुपर्ने बताउनुभयो । शारदा नगरपालिका– २ का वडाअध्यक्ष समेत रहनु भएका हमालले खेलक्षेत्रका लागि सल्यान सम्भावना बोकेको जिल्ला भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार शिव डाँगीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस