मदन भण्डारी राजमार्ग : सल्यान खण्डको लागि वजेट सुनिश्चितताको पहल

रोल्पाको माडिचौर, घर्तीगाउँ पाथिहाल्ना हुदै बागचौर, सल्यानको सितलपाटी, खलंगा हुदैँ बालुवासंग्रही र सुर्खेतको पश्चिमी क्षेत्रमा तत्कालै टेण्डर गरिने उहाँको भनाइ छ ।

File Photo

सल्यान, ९ पुस ।
मदन भण्डारी राजमार्ग अन्र्तगत सल्यान सडक खण्डको स्तरोन्नतिका लागि आवश्यक वजेटको सुनिश्चितताको पहल थालिएको छ । पुर्वको झापा देखी पश्चिमको डडेलधुरासम्म जोडिएको मदन भण्डारी राजमार्गको सल्यान सडक खण्डको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयसँग वजेट सुनिश्चित गर्न पहल थालिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर (सितलपाटी) बाट खलंगा–कुपिण्डे ताल हुदैँ बालुवासंग्रही सम्मको ४० किमि सडकको स्तरोन्नति गरिदैँ छ । यस्तै रोल्पाको माडिचौर, घर्तीगाउँ पाथिहाल्ना हुदै बागचौर र सुर्खेतको पश्चिमी क्षेत्रमा पर्ने सडकको पनि यसैपटक स्तरोन्नति गरिदैँ छ ।

मदन भण्डारी राजमार्ग सुर्खेत आयोजना प्रमुख शम्भु आचार्यले सल्यान सडक खण्डको ४० किमि सडक स्तरोन्नतिका लागि डिपिआर तयार भैसकेको जानकारी दिनुभएको छ । उहाँका अनुसार सितलपाटी देखी बालुवासंग्रही सडक दाँयाबाँया २ मिटर नाला सहित सडक ११ मिटर चौडाइ हुने छ । ‘यो सडक २ लेनको हुने छ, डिपिआर यसअघि नै भैसकेको छ’ उहाँले भन्नुभयो ‘अहिले यस सडकलाई बहुबर्षिय आयोजनामा लैजानको लागी अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चित गर्न पहल थालिएको छ ।’

उहाँले सडक स्तरोन्नतिको क्रममा ११ मिटर भित्र पर्ने घरको क्षतिपुर्ती राज्यले दिने बताउनुभयो । ‘सरकारले अहिलेसम्म जग्गाको मुआब्जा दिएको छैन, घरको क्षतिपुर्ती दिन्छ, खर, जस्तापाता वा ढलान जुनसुकै भएपनि जिल्ला दररेट अनुसार नै घरको क्षतिपुर्ती दिन्छ’ उहाँले भन्नुभयो ‘सडक नागरिककै लागि हो, नागरिकलाई नै दुख दिएर सडक स्तरोन्नति गरिदैन्, सबैसँगको सहकार्य र समन्वयमा काम अघि बढ्छ ।’

शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले मदन भण्डारी राजमार्ग सल्यानको विकास र समृद्धिसँग जोडिएको बताउनुभयो । ‘विकासको मेरुदण्ड सडक भएकाले यसलाई अघि बढाउन आवश्यक छ, विकासमा राजनिति गर्न आवश्यक छैन्, जसले गरेपनि विकास नागरिकको हितमा हुनुपर्छ, कोही नागरिकको उठिबास हुने गरि विकास गरिनु हुदैँन्’ उहाँले भन्नुभयो । पहिलो पटक सल्यान जिल्लालाई राजमार्गले छोएर जाने भएकाले राष्ट्रिय गौरवको यस आयोजनालाई सफलतापुर्वक सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।

स्थानिय जयराम सिंहले मदन भण्डारी राजमार्ग जिल्लाको लागि अपरिहार्य भएकाले स्तरोन्नतिको काम अघि बढाउदा सडककै कारण नागरिक घरजग्गा विहिन हुनबाट रोक्न राज्यले आवश्यक पहल गर्नुपर्ने बताउनुभएको छ । अर्का स्थानिय कल्पना सेजवालले सडक वरिपरी घरजग्गा भएका नागरिकलाई दुखी बनाएर भन्दा पनि उनीहरुका माग सम्बोधन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सडक स्तरोन्नतिको काम अघि बढाउन राजनितिक दलको सुझाव

मदन भण्डारी राजमार्ग अन्र्तगत सल्यान जिल्लामा पर्ने सडक खण्डको स्तरोन्नतिको काम अघि बढाउन राजनितिक दलका प्रतिनिधिहरुले सुझाव दिएका छन् । आइतवार खलंगामा आयोजित मदन भण्डारी राजमार्ग अन्तर्गत सितलपाटी–खलंगा–कुपिण्डेदह–बालुवासंग्रही सडक खण्ड स्तरोन्नतिको लागि प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाइ कार्यक्रममा राजनितिक दलका प्रतिनिधिले जिल्लाको विकास र समृद्धिका लागि सल्यान सडक खण्डको स्तरोन्नतिको काम अघि बढाउन सुझाव दिएका हुन् ।

उनीहरुले सडक स्तरोन्नतिका क्रममा ११ मिटर भित्र केही स्थानिय नागरिकको घरसमेत पर्ने भएकाले उनीहरुलाई क्षतिपुर्ती सहित उचित व्यवस्थापन गरेर काम अघि बढाउन सुझाव दिएका हुन् । नेपाली काँग्रेसका सनत कुमार शर्मा, नेकपा एमालेका मनोज सिंह, नेकपा माओवादी केन्द्रका प्रमोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटा, राप्रपाका इन्द्रा भण्डारी, नेकपा एकीकृत समाजवादीका रमेश कुमार गौतमले सडक स्तरोन्नतिका क्रममा देखिएका समस्या समन्वय र सहकार्यबाट समाधान गर्दै काम अघि बढाउन सुझाएका हुन् ।

तत्काल टेण्डर प्रक्रिया सुरु गर्छौ : मन्त्री ज्वाला

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मदन भण्डारी राजमार्गको सल्यान सडक खण्ड स्तरोन्नतिका लागि तत्कालै टेण्डर आह्वान गर्ने बताउनुभएको छ । सल्यानलाई कुनै पनि राजमार्गले नछोएको अवस्थामा मदन भण्डारी राजमार्ग मेरुदण्डका रुपमा रहेकाले स्रोत सुनिश्चित गरी बहुबर्षिय ठेक्का लैजाने तयारी गरिएको उहाँले बताउनुभएको छ ।

‘मदन भण्डारी राजमार्गमा चालु आर्थिक बर्षमा २ अर्व ३५ करोड रुपैँया विनियोजन गरेका छौँ, यो पटक टेण्डर प्रक्रिया अघि नबढेका रोल्पा, सल्यान र सुर्खेत जिल्लामा यसको काम अघि बढाएका छौँ, यो सडकमा वजेटको समस्या हुदैन्, यो सडक राष्ट्रिय मापदण्ड अनुरुप कै कालोपत्रे बन्छ’ उहाँले भन्नुभयो ‘झण्डै ९ अर्व ४० करोडको टेण्डर गर्दैछौँ ।’ रोल्पाको माडिचौर, घर्तीगाउँ पाथिहाल्ना हुदै बागचौर, सल्यानको सितलपाटी, खलंगा हुदैँ बालुवासंग्रही र सुर्खेतको पश्चिमी क्षेत्रमा तत्कालै टेण्डर गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस