सल्यान, १० पुस ।
सल्यानमा यो वर्ष धान उत्पादनमा कमी आएको छ । धान उत्पादनको क्षेत्रफल घट्नु, रोग किराको प्रकोप हुनु र आकासे वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो । मलखाद, विषादी, र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार धान उत्पादन राम्रो नहुँदा जिल्लाका किसान चिन्तित छन् ।
शारदा नगरपालिका निवासी किसान खुमा चन्दले यस बर्ष धानको उत्पादन राम्रो नभएको बताउनुभएको छ । ‘मैले ८ रोपनी क्षेत्रफलमा धानखेती गरेकी हुँ, धान रोपेको झण्डै एक महिनामा नै धानमा किराको प्रकोप बढ्यो, धानको व्याड राख्ने बेला देखी नै खर्च सुरु भयो, जोत्ने ट्याक्टर, हलि, रोपाई गर्ने, ब्याड निकाल्ने, मल, वीउ सबैमा खर्च भयो, तर उत्पादन राम्रो भएन’ उहाँले भन्नुभयो ।
पछिल्लो समय धान उत्पादन बर्षेनी घट्दै गएको अर्का किसान गोपाल शर्माले बताउनुभयो । ‘जे जति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो, राम्रो बिउ र समयमा नै मल पाउन मुश्किल छ, बर्षा भएमात्रै खोला बढ्ने र कुलोमा सिँचाई पुग्ने भएकाले समस्या बनाएको छ’ उहाँले भन्नुभयो ‘धान हेर्दा राम्रो देखिन्छ तर उत्पादन कम भैरहेको छ ।’
कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा बर्षेनी धान उत्पादनमा कमी आएको छ । विगत पाँच बर्षको तथ्यांक हेर्दा पनि धान उत्पादन हुने क्षेत्रफल घट्दै गएकोले धान उत्पादनमा पनि कमी आएको कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकारी ईश्वरी नारायण घर्तीले जिल्लामा यस बर्ष ६ हजार १ सय २५ हेक्टरमा धान खेती गरिएकोमा २८ हजार ७ सय ६३ मेट्रिकटन उत्पादन भएको बताउनुभयो ।
जसमा बर्षे धान ६ हजार २९ हेक्टर, चैते धान ७ हेक्टर र घैया धान ८९ हेक्टरमा खेती गरिएको थियो । उहाँका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा जिल्लामा ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २९ हजार ३ सय ५२ मेट्रिकटन उत्पादन भएको थियो । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा ७ हजार ८२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २९ हजार ८ सय १५ मेट्रिकटन उत्पादन भएको थियो ।
यस्तै आर्थिक बर्ष २०७८/०७९ मा ७ हजार ८३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २७ हजार ८ सय ७९ मेट्रिकटन र आर्थिक बर्ष २०७९/०८० मा ७ हजार ७३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३० हजार ५ सय ९० मेट्रिकटन उत्पादन भएको थियो । जिल्लामा बर्षे धानको उत्पादन क्षेत्रफल घट्दै गएको भएपनि चैते धान र घैया धानको उत्पादन क्षेत्रफल बर्षेनी बढेको सुचना अधिकारी घर्तीको भनाइ छ ।
पछिल्लो समय जिल्लाका कृषक चैते र घैया धान खेतीमा आकृर्षित भएका छन् । कालिमाटी गाउँपालिकाका किसान मानबहादुर खत्रीले केही बर्षयता चैते धानको खेती बढ्दै गएको बताउनुभएको छ । ‘चैते धान भित्र्याएर बर्खे धान रोप्ने हो, त्यसपछि तोरी हुन्छ, फेरी गहुँ रोप्यो, खेतवारी बाँझो हुदैनन्’ उहाँले भन्नुभयो ‘धेरै पटक बाली लगाउँदा उत्पादन धेरै हुन्छ, बाह्रै महिना सिँचाइ हुने भएकाले खेतीपातीमा कुनै समस्या छैन् ।’ चैते धानको खेतीले खेतवारी बाँझो कहिल्यै नहुने गरेको उहाँको भनाइ छ ।