सल्यान, १६ पुस ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराको ८ औँ साधारणसभा सम्पन्न भएको छ । आइतबार लेखपोखराको लेखानाचौरमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सहकारीबाट ऋण लिने र सदुपयोग नगर्ने होडबाजी चलेकाले सहकारीबाट लिएको ऋणलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो ।
गाउँमा चर्को ब्याजमा ऋणलिन बाध्य कृषकहरुको लागि साना किसान कृषि सहकारी सहयात्री बनेर चर्को ब्याजदरमा ऋणलिनुपर्ने समस्याको अन्त्य गरिदिएको उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले सहकारीको वृद्धि विकासको लागि पालिकाले गर्नुपर्ने सहयोग सधैं गर्ने बताउनुभयो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिका–५ का वडाअध्यक्ष फौद बहादुर बस्नेत, साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटका प्रबन्धक जित प्रसाद आचार्य लगाएतले बोल्नुभएको थियो । सहकारीका उपाध्यक्ष सिता वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्था प्रवन्धक धन बहादुर परियारले गर्नुभएको थियो ।
कुल २ करोड २२ लाख ७१ हजार ३ सय रुपैँया लगानी गरेको यस संस्थाले १ करोड ११ लाख ६१ हजार २ सय रुपैयाँ मात्र निक्षेप संकलन गरेको छ । यस्तै शेयर पुँजी २७ लाख ६२ हजार ३ सय रुपैयाँ, जगेडा कोष ७ लाख ५६ हजार २ सय रुपैया र खुद मुनाफा ४ लाख ५६ हजार रुपैया रहेको छ । यस सहकारीमा ४ सय ८६ जना महिला र २९ पुरुष गरेर ५ सय १५ जना शेयर सदस्य रहेका छन् ।