सल्यान, १६ पुस ।
बालविवाह न्युनिकरणका लागि सबैको प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । पछिल्लो समय खुलेरै बालविवाह नहुने गरेको भएपनि समाजमा कहीकतै बालविवाह हुनसक्ने भएकाले बालविवाहलाई रोक्न सबैको प्रयास आवश्यक रहेको उनीहरुले बताएका हुन् । बालविवाह विरुद्धको साझा अभियान संजाल सल्यानद्धारा खलंगामा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले बालविवाह रोक्नको सबै एक भएर लाग्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बालविवाह विरुद्धको साझा अभियान संजाल सल्यानका संयोजक निम बहादुर नेपालीले सन् २०२३ मा जिल्लामा यस सञ्जालले सञ्चालन गरेको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । अहिले जिल्लाका सबै पालिकाले बालविवाह न्युनिकरण अभियान सञ्चालन गर्दै आएको र कपुरकोट गाउँपालिका, शारदा नगरपालिका र त्रिबेणी गाउँपालिकाले बिशेष प्राथामिकताका साथ अभियान सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यानमा सबैभन्दा धेरै बालविवाह हुने गरेको पाइएको छ । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको र यसलाई न्युनिकरण गर्न स्थानीय तह, पत्रकार, अधिकारकर्मी लगाएत सरोकारवाला सबैको भूमिका महत्वपुर्ण रहेको उहाँको भनाइ छ ।
यसैविच बालविवाह न्युनीकरण गर्न भन्दै पत्रकार तथा अधिकारकर्मीहरुले सबै पालिकालाई ध्यानाआकर्षण गराएका छन । एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले समाजमा व्याप्त रहेको बालविवाहलाई न्युनिकरण गर्दै सभ्य र स्वावलम्बि नागरिक उत्पादन गरि सृजनशिल समाज रुपान्तरणका लागि बालविवाह अन्त्य गर्न अपिल गरेका हुन् ।