सल्यान, २२ पुस ।
बागचौर नगरपालिका–९ कमलपोखरीका डण्डविर डाँगीले १३ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । उहाँसँग करिब ५ सय बोट सुन्तला छन् । गहुँ मकैँ रोप्नेबारीमा नै सुन्तलाका विरुवा रोपेर दशक अघिदेखी व्यवसायिक सुन्तला खेती गर्न थाल्नुभएका उहाँले गत बर्ष २ सय १५ क्विन्टल सुन्तला बिक्री गर्नुभयो । जसबाट उहाँको करिब १८ लाख रुपैँया आम्दानी भयो ।
‘सुन्तलाको वजारभाउ अस्थिर छ, मुल्यमा घटबढ भैरहन्छ, गतबर्ष ६५ रुपैँया प्रतिकिलोका दरले सुन्तला बेच्न थालेको हुँ, माघको महिनामा ९० रुपैँया प्रतिकिलोका दरले बिक्री भएको हो, आम्दानीका हिसावले पनि गतबर्ष राम्रो आम्दानी भएको हो’ उहाँले भन्नुभयो । सुन्तलाको हाँगा सुक्ने रोगका कारण यो बर्ष उहाँको बगैँचामा कम सुन्तला फलेको छ । यो बर्ष करिब ५० क्विन्टल मात्रै फल्ने उहाँको आँकलन छ ।
‘गतबर्ष लामो समयसम्म बोटमा नै सुन्तला रहे, यसले बोटलाई असर ग¥यो, गएको बर्खामा सुन्तलाका पात पहेला हुदै हाँगा सुक्ने रोग देखियो, यसले गर्दा त झन् धेरै हाँगा काटेर फाल्नुप¥यो, त्यही भएर सुन्तला कम छ, ४ लाख रुपैँया सम्म आम्दानी हुन्छ कि भन्ने आँकलन गरेको छु’ डाँगीले भन्नुभयो । सुन्तला बिक्री गर्ने सिजन भएपनि सुन्तला टिप्न र बेच्न भने सुरुवात नभएको उहाँको भनाइ छ ।
‘सुन्तला पाकेर कोटमौला पहेँलपुर भएको छ, फाटफुट मात्रामा कसैले २/४ क्विन्टल सुन्तला बेचेपनि कोटमौलामा सुन्तला बिक्री सुरु भएको छैन्, कृषक आफैले सुन्तला टिपेर बेच्न जाने अवस्था छैन्, व्यापारीहरु सुन्तला खरिदका लागि आएका छैनन्, २/४ जना व्यापारी आएर फर्केपनि खास व्यापारी आएका छैनन्, गाउँमा फाटफुटमा ६५/७० रुपैँया प्रतिकिलो सुन्तला चलेको छ, यसमा कृषकले सुन्तला बेच्न मानेका छैनन्, अहिलेसम्म आएका व्यापारीले राम्रो मुल्य दिएका छैनन्’ उहाँले भन्नुभयो ।
उहाँकै छिमेकी गिर्दल डाँगीले ४ सय ५० बोट सुन्तला रोप्नुभएको छ । गतबर्ष २ सय ४५ क्विन्टल सुन्तला बिक्री गर्नुभएका उहाँले १४ लाख ४५ हजार रुपैँया आम्दानी गर्नुभयो । गतबर्षको भन्दा यसबर्ष सुन्तला कम फलेको छ । यसबर्ष २ सय क्विन्टल सुन्तला फलेको उहाँको अनुमान छ । उहाँको बगैँचामा पनि सुन्तला पोकेर पहेँलपुर भएका छन् । पोकेका सुन्तला टिप्न र बिक्री गर्न भने अझै सुरुवात भएको छैन् ।
‘सुन्तलाको आम्दानी वजारको मुल्यमा भर पर्ने हो, मुल्य पाएमा १२ लाख रुपैँया बढी यसै बर्ष आम्दानी हुने मैले आँकलन गरेको छु’ उहाँले भन्नुभयो । पोहोरका बर्षमा यसबेला कोटमौलामा सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, गाडीमा लोड गर्ने, वजारमा पठाउने काममा कृषक व्यस्त हुन्थे । गतबर्ष यो बेला करिब ३० प्रतिशत सुन्तला जिल्लाबाहिर निकासी भैसकेको भएपनि यसबर्ष भने व्यापारीको पर्खाइमा कृषक छन् ।
‘केही साताअघि सुन्तला खरिदका लागि केही व्यापारी आएका थिए, त्यो बेला माघमा सुन्तला लैजाने भनेर ९० रुपैयाँ प्रतिकिलो सम्म मुल्य तोकेका थिए, गतबर्ष नै ९० रुपैँया प्रतिकिलोमा सुन्तला बिक्री भएकाले त्यही दरमा कृषकले दिन मानेनन्, व्यापारी त्यसै फर्किए, त्यसपछि व्यापारी आएका छैनन्’ डाँगीले भन्नुभयो ‘चिसोका कारणमा बजारमा सुन्तलाको माग कम छ रे, त्यही भएर व्यापारीले सुन्तला खरिद गर्न मानेका छैनन् ।’
बागचौर नगरपालिका–८ र ९ (कोटमौटा) सुन्तलाको हव हो । यहाँबाट बर्षेनी करोडौँको सुन्तला निकासी हुन्छ । यसबर्ष भने सुन्तलाको बोटमा पिंक डिजिजका कारण उत्पादनमा कमी आएको छ भने सिजनमा पनि सुन्तला बिक्रीको काम सुरु भएको छैन् । यहाँका अधिकांश सुन्तला दाङ, बुटवल, नारायणगढ र पोखरामा निर्यात हुने गर्दछ ।
आम्दानीको स्रोत नै सुन्तला
जिल्लामा सुन्तला खेती गर्दै आएका कृषकको आम्दानीको स्रोत भनेकै सुन्तला खेती हो । सुन्तला बेचेर कमाएको पैसाले नै छोराछोरीको पढाई खर्च, घरखर्च देखी बचत समेत हुने गरेको छ । जिल्लामा बर्षेनी सुन्तला खेती गर्ने कृषक र क्षेत्रफल बढ्दै गएको छ । २२ बर्ष शिक्षक पेशामा संलग्न हुनुभएका छत्रेश्वरी गाउँपालिका–७ तुसारेका शिव बहादुर राना अहिले सुन्तला खेतीमा व्यक्त हुनुहुन्छ ।
२०६६ सालदेखी सुन्तला खेती सुरु गर्नुभएका उहाँसँग अहिले ८० बोट सुन्तला छन् । ‘गाउँमै पहिलो पटक सुन्तला खेती गर्दा कसैले पत्याएका थिएनन्, सबैले अच्चम मान्थे, तर अहिले गाउँकै तीस भन्दा बढी घरपरिवारले सुन्तला खेती गर्न थालेका छन्’ उहाँले भन्नुभयो ‘गतबर्ष १ लाख २० हजारका सुन्तला मात्रै बेचे, यो बर्षपनि राम्रो आम्दानी भएको छ ।’
राना सुन्तला खेतीमा मात्रै सिमित हुनुहुन्न । उहाँले ४५० बोट अनार, ५० बोट कागति, ८० बोट टिमुर र २० बोट दाँते ओखर खेती गर्नुभएको छ । अहिले फलफूल विक्रीबाट मात्रै बर्षेनी लाखौँ आम्दानी गरिरहेको उहाँको भनाइ छ ।
सुन्तलाको निर्यात सुरु भयो, मुल्य घटबढ भैरहेको छ : बस्नेत
जिल्लामा यसबर्षको सुन्तलाको विक्री वितरण सुुरु भएको छ । कोटमौला क्षेत्रको सुन्तला निर्यात सुरु नभएपनि त्रिबेणी, कुमाख, सिद्धकुमाख, छत्रेश्वरीको सुन्तला वजार निर्यात सुरु भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका प्रमुख रेशम कुमार बस्नेतले समग्रमा यसबर्ष जिल्लाको सुन्तला उत्पादनमा केही कमी आउने अनुमान गरिएको बताउनुभयो ।
समग्र जिल्लाको उत्पादन राम्रो भएपनि कोटमौला क्षेत्रको सुन्तलामा हाँगा सुक्ने समस्या देखिएकाले उत्पादन केही घट्ने अनुमान गरिएको उहाँको भनाइ छ । ‘सुरुवातमा ५०/५५ रुपैँया प्रतिकिलोका दरले सुन्तला बिक्री भएको अहिले ७५/८० रुपैँया प्रतिकिलो पुगेको छ, सुन्तलाको मुख्य घटबढ भैरहेको छ, सुन्तला पाकेर पहेँलो भएको छ, राम्रो मुल्य पाएमा सुन्तला बेच्न कृषक तयार छन्’ उहाँले भन्नुभयो ‘मध्य माघ पछिसम्म बोटमै सुन्तला रह्यो भने अर्कोबर्ष उत्पादनमा असर पुग्छ ।’
गएको सिजनमा जिल्लाबाट ८ हजार ३७६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने कृषकले २८ करोड रुपैँया जिल्लामा भिञ्याएका थिए । सल्यानमा उत्पादित सुन्तला मध्ये करिब ६० प्रतिशत सुन्तला काठमाडौं, नेपालगन्ज, बुटवल, दाङ मात्र नभई भारतको लखनउ सम्म पुग्ने गरेको छ ।