सल्यान, २३ पुस ।
सबै नागरिकले नेपाल प्रहरीमाथि धेरै भरोसा राखेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । समाजमा हुने विभिन्न आपराधिक क्रियाकलाप रोक्न, सचेतिकरणका कार्यक्रम सञ्चालन गर्न र नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नका लागि प्रहरीको अग्रनी भुमिका हुने भएकाले प्रहरीमाथि नागरिकले धेरै भरोसा राखेको उनीहरुले बताएका हुन् ।
सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्नका लागि नेपाल प्रहरी, स्थानीय तह र समूदायका विचमा प्रभावकारी साझेदारी हुनुपर्ने उनीहरुको जोड छ । आइतवार छत्रेश्वरी गाउँपालिकामा आयोजित समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रमका सहभागिहरुले प्रहरीको साथ र सहयोग प्राप्त गरी समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शान्ति सुरक्षा कायम राख्न स्थानिय सरकारबाट प्रहरीसंग सहकार्य र सहयोग रहने बताउनुभयो । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउन र सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारीलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले लागू औषध दुव्र्यननी निकै हानिकारक रहेको भन्दै यसको नियन्त्रण संगै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न र कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, गाउँपालिकाका प्रथम अध्यक्ष सन्तोष केसी लगाएतले बोल्दै भौगोलिक जटिलताको कारण सुरक्षा चुनौती पनि थपिने भएकाले त्यसलाई मध्यनजर गर्दै प्रहरीको उपस्थिती नभएका वडाहरुमा प्रहरी युनिट स्थापना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक नवीन कार्कीले सल्यानमा ३५ वटा प्रहरी युनिट रहेकोमा ९ वटा युनिटको मात्रै आफ्नै भवन रहेको भन्दै जग्गा प्राप्ती संगै भौतिक पूर्वाधार निर्माणमा सबैको सहयोगको अपेक्षा गर्नुभयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारीको अवधारणा बमोजिम प्रहरीसंग हातेमालो गर्दै आवश्यक सूचना दिन तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिक समक्ष उहाँले अनुरोध गर्नुभयो ।
नागरिक सुनुवाईमा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, ६ का वडा अध्यक्ष टिकाराम बुढा, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन, विभिन्न राजनितीक दलका प्रतिनिधी, नागरिक समूहका प्रतिनिधिहरुले प्रहरी सेवालाई भरपर्दाे र विश्वासिलो बनाउन विभिन्न सुझाव दिनुभयो ।
छत्रेश्वरी गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालयहरुमा प्रहरीले लगतै सचेतनाका कार्यक्रम सञ्चालन गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख रेशमलाल पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अनुसन्धान अधिकृत सन्जीव कुमार चौधरी, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, जनप्रतिनिधी, कर्मचारी, विद्यालयका प्रतिनिधी, क्लव, संघसंस्था, निर्माण व्यवसायी, यातायात व्यवसायी, वन समूह, महिला समूह तथा समाजसेवि लगाएतको सहभागिता थियो ।