सल्यान, २३ पुस ।
सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले पत्रकार समाजको ऐना भएकाले पत्रकारमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने गरेको बताउनुभएको छ । उहाँले आवाज विहिन नागरिकको आवाज पत्रकारले बोल्नुका साथै राम्रा कामको प्रचारप्रसार र कमी कमजोरी भए खबरदारी गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काम पनि पत्रकार मार्फत भैरहेको बताउनुभएको हो ।
हालै प्रमुख जिल्ला अधिकारीको रुपमा सल्यान आउनुभएका उहाँले सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । ‘पत्रकारलाई जिल्लाको सबै बस्तुस्थितीका बारेमा थाहा हुन्छ, पत्रकारसँगै सहकार्य र समन्वय गरेर काम गर्दा सजिलो र प्रभावकारी हुन्छ’ उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्लाका सबै सरकारी कार्यालयबाट छिटो, सहज र सरल तरिकाबाट सुचना प्रवाह गर्ने वातावरण सिर्जना गरिने बताउनुभयो । कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय थारमारेको सेवा प्रवाहमा कठिनाइ भैरहेकाले दरबन्दी अनुसारकै कर्मचारी पुर्र्तिका लागि गृह मन्त्रालयसँग माग गरिएको उहाँको भनाइ छ ।
पत्रकारसँगको परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, प्रमुख अनुसन्धान अधिकृत सन्जीव कुमार चौधरी, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन लगाएत विभिन्न मिडियामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।