कपुरकोटमा खरको छानोमुक्त अभियान : यसैबर्ष २ सय घरमा टिनको छानो

‘हरेक वर्ष घर छाउने कारणले स्थानियले खरको जोहो गर्नुपर्ने, हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने, आगोबाट सजिलै जल्न सक्ने र टिकाउ नहुने हुँदा छानो फेरिराख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुन्छ भन्ने हामीले ठानेका छौँ’ अध्यक्ष पुनले भन्नुभयो ‘अहिले गाउँमा घर छाउने जनशक्तिको समेत अभाव रहेकाले खरको छानोमुक्त अभियान सञ्चालन गरेका हौँ, यसले नागरिकलाई सहज हुने अपेक्षा गरेका छौँ ।’


सल्यान, २५ पुस ।
खरको छानामुक्त अभियान अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिकाले यसैबर्ष २ सय घरमा टिनको छानो लगाउने भएको छ । विपन्न, असहाय समुदायहरूको पहिचान गरी उनीहरुको घरमा टिनको छाना लगाएर खरको छानालाई विस्थापित गर्ने लक्ष्य लिएको गाउँपालिकाले यसबर्षदेखी खरको छानामुक्त अभियान सञ्चालन गरेको हो । जसअनुसार पालिकाभित्र बसोबास गर्ने विपन्न, असहाय समुदायहरूको घरमा खरको छाना हटाएर टिनको छाना लगाउने कार्यका लागि सम्बन्धित घरधनीसँग सम्झौताको काम चलिरहेको गाउँपालिकाले जनाएको छ ।

यसबर्ष संघीय सरकारको बजेटमा १ सय १८ घर र पालिकाको बजेटमा ८२ घरमा जस्तापाता लगाउने गरि सम्झौताको काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमसँग जोडेर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा खरले छाएका दुई सय वटा घरमा रंगिन जस्तापाता लगाउने भएको हो । अवको तीनबर्षमा गाउँपालिका खरको छानामुक्त हुने गाउँपालिकाले जनाएको छ ।

खरको छानामुक्त गाउँपालिका कार्यक्रममा परेका निवेदन अनुसार प्राथमिकताका आधारमा दलित, विपन्न तथा एकल महिलाको खरले छाएको घरमा जस्तापाता लगाउन लागेको गाउँपालिकाले जनाएको छ । यो आर्थिक वर्षमा पालिकाभित्र रहेका वडा १, २, ३ र ४ मा २०/२० घर तथा वडा नम्बर ५ र ६ मा ४०/४० घरमा जस्तापाता लगाइने छ । जस्तापाता लगाएतका सामाग्री खरिदका लागि प्रतिघर ५० हजार रुपैँया उपलब्ध गराइने छ ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिकाभरी करिब ६ सय घर खरका छाना भएको अनुमान गरिएको र अवको तीन वर्षमा खरको छानामुक्त पालिका बनाउने योजना अनुरुप काम भैरहेको जानकारी दिनुभयो । उहाँले यो वर्ष एक करोड रुपैँयाबाट खरको छानामुक्त अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो । विपन्न तथा आम्दानीको स्रोत नभएका कारण खरको छानोमा जीवन बिताउन बाध्य भएका स्थानियलाई खरको छानोमुक्त अभियानमा जोड्ने उहाँको भनाइ छ ।

‘हरेक वर्ष घर छाउने कारणले स्थानियले खरको जोहो गर्नुपर्ने, हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने, आगोबाट सजिलै जल्न सक्ने र टिकाउ नहुने हुँदा छानो फेरिराख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुन्छ भन्ने हामीले ठानेका छौँ’ अध्यक्ष पुनले भन्नुभयो ‘अहिले गाउँमा घर छाउने जनशक्तिको समेत अभाव रहेकाले खरको छानोमुक्त अभियान सञ्चालन गरेका हौँ, यसले नागरिकलाई सहज हुने अपेक्षा गरेका छौँ ।’

खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ । उहाँले आफ्नो पालिकाभित्र झरी वर्षातको बेला कसैले पनि डर त्रासमा बस्न नपरोस्, पानी चुहिने छानामुनि अनिदो रात नकटोस् भनेर यो कार्यक्रम ल्याएको बताउनुभयो । गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवार टिनको छाना लगाउनको लागि पालिकामा सम्झौताका काम सुरु भएसँगै खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस