सल्यान, ७ माघ ।
अघिल्लो बर्षमा ३ जना बिद्यार्थीका लागि ५ जना शिक्षक थिए सल्यानको शारदा नगरपालिका ३ पौवाबारीमा रहेको खड्गदेवी प्राथामिक बिद्यालयमा । बिद्यालयमा पढ्ने बिद्यार्थी थिएनन्, शिक्षकशिक्षिका आउथेँ, घाम ताप्थे र घर जान्थे । जसका कारण बिद्यालय बन्द जस्तै थियो । स्थानियको पहल र बिभिन्न निकायको सहयोगमा यस शैक्षिक सत्रको सुरुवातमा बिद्यालयमा शैक्षिक सुधारको अभियान सञ्चालन गरियो । जसका कारण अहिले बिद्यालयमा ७९ जना बिद्यार्थी नियमित बिद्यालयमा आउँछन्, र रमाइरमाई पढिरहेका छन् ।
चारैतिर मानववस्ती छ । विचमा चिटिक्क परेको बिद्यालय छ । आधा दर्जन बिद्यालयका कोठा छन् । प्रत्येक कोठामा भुई बसाई छ । खेलमैदान छ । छेउमा शौचालय छ । अनि खेल्दै रमाउदै पढिरहेका बिद्यार्थीहरु । अहिले यसबिद्यालयमा प्रवेश गर्ने जो कोही चकित पर्छन् । कारण हो बन्द जस्तै भएको बिद्यालयले अहिले पुर्नजिवन पाएको छ ।
बिद्यार्थीहरु पनि रमाइ रमाइ पढिरहेका छन् । कक्षा ३ मा अध्ययनरत सपना जिबिले अहिले बिद्यालयमा पठनपाठन राम्रो भएको बताउनुभयो । लुहापिङमा कक्षा २ पढेर कक्षा ३ मा यहाँ भर्ना भएकी हुँ, सबै सरम्याम बिद्यालयमा आउनुहुन्छ, राम्रोसँग पढाउनुहुन्छ उहाँले भन्नुभयो ।
आजभोली बिद्यालयमा निर्धक्कका साथ पढ्न पाएकोमा बिद्यार्थीहरु खुसी छन् । अर्का बिद्यार्थी बबिता गन्धर्वले अहिलेले बिद्यालयमा कितावी ज्ञानसँगै अतिरिक्त कार्यमा पनि जोड दिएको र धेरै कुरा सिक्न पाएको बताउनुभयो । सरसफाई, अनुशासन देखी हरेक कार्य कसरी गर्ने भनेर सिकाउनु हुन्छ, यसले हामीलाई सिक्न सजिलो भएको छ उहाँले भन्नुभयो ।
२०३२ सालमा स्थापना भएको यस बिद्यालयमा ८६ जना बिद्यार्थी भर्ना भए । ती मध्ये अहिले ७९ जना बिद्यार्थी नियमित बिद्यालय आइरहेका छन् । जसमा बालविकासमा २८ जना, कक्षा १ मा १३ जना, कक्षा २ मा १२ जना, कक्षा ३ मा १२ जना, कक्षा ४ मा ८ जना र कक्षा ५ मा ८ जना बिद्यार्थी नियमित बिद्यालयमा आउने गरेका छन् । बिद्यालयमा दिवाखाजा पाक्छ, प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप हुन्छन्, प्रशस्त खेलकूदका सामाग्री छन् ।
सुरुवातमा जीर्ण संरचना निर्माणमा केही समय लागेपनि अहिले गुणस्तरीय शिक्षामा जोड दिएर पठनपाठन भैरहेको बिद्यालयका प्रधानाध्यापक टिकाराम खड्काले बताउनुभयो । बन्दजस्तै बिद्यालयलाई पुनर्जिवन दिनु सजिलो थिएन् । स्थानियको पहल, वडा कार्यालय, नगरपालिका, शिक्षा शाखा सहित विभिन्न निकायको सहकार्य र साझेरीमा बिद्यालयलाई व्यवस्थित तरिकाले सञ्चालन गरिएको हो ।
सुरुवातमा नयाँ बिद्यार्थी भर्ना चुनौती देखिएपनि अभिभावकसँग प्रतिवद्धता व्यक्त गरेर बिद्यार्थी भर्ना गरिएको र अहिले अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन भैरहेको बिद्यालय सुधारका अभियान्ता मौसमदास श्रेष्ठले बताउनुभयो । यस बिद्यालयमा दरबन्दीमा तीन, नगर अनुदानबाट एक, निजि स्रोत एक, बालविकास दुई र कार्यालय सहयोगी एक गरेर ८ जना कार्यरत छन् ।
यस बिद्यालय आधारभूत तह (१–८) सञ्चालनको तयारी गरिएकाले नगरपालिकासँग थप दरबन्दीको माग गरिएको शारदा नगरपालिका ३ का वडाअध्यक्ष तुलसा भण्डारीले बताउनुभयो ।