आर्थिक अभावले त्रिपालमुनीको बास : निशुल्क उपचारका लागि काठमाण्डौँ पठाइयो

त्रिपालमुनी बिरामी छोरासँगै आमाले दिनरात काटेको थाहा पाएपछि जनप्रतिनिधि, समाजसेवि, मानवअधिकारकर्मी, पत्रकार लगाएतको सहयोगमा गोरखलाई शुक्रवार उपचारका लागि काठमाण्डौँ पठाइएको छ ।

सल्यान, १२ माघ ।
सल्यानको कुमाख गाउँपालिका–३ गुर्दासेका २५ बर्षिय गोरख परियार विगत केही बर्षयता शारदा नगरपालिका–१ श्रीनगरमा बस्दै आउनुभएको छ । गाउँमा पुर्खाको सम्पती केही नभएपछि थाकथलो छोडेर उहाँ आमासँगै श्रीनगरमा बस्न थालेको एक दशक भयो । पुरानो बसपार्क क्षेत्रमा टहरा बनाएर बस्दै आएका उहाँले गिट्टीबालुवा गर्ने, ज्यालामजदुरी गर्ने र त्यसबाट आएको पैसाले साँझबिहानको छाँक टार्दै आउनुभएको थियो ।

गतबर्ष नगरपालिकाले आधुनिक बसपार्क निर्माणका लागि बसपार्क क्षेत्रको ऐलानी जग्गामा बनाएका सबै घरटहरा हटायो । गोरखसँगै आमा सिउकली परियारको लागि नगरपालिकाले केही महिनाको कोठा भाडा उपलब्ध गराएर अनेत्र व्यवस्थापन गर्यो । ज्यालामजदुरी गरेर जीवन गुजारा चलिरहेको थियो, यही मंसिर महिनामा खुट्टामा घाउ भएर गोरख बिरामी हुनुभयो । आमाले उपचारका लागि जिल्ला अस्पताल सल्यान लिनुभयो । जिल्ला अस्पतालले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठायो ।

त्यसबखत गोरखको पेटमा पनि समस्या देखियो । चारदिनको अस्पताल बसाइपश्चात पुसमा प्रदेश अस्पतालमा गोरखको पेटको शल्यक्रिया भयो तर सफल भएन् । अस्पतालले सल्यान फिर्ता पठायो । दिनप्रतिदिन गोरखको घाउ बढ्दै गयो । घाउ पाक्यो । खुट्टाको घाउ जस्ताको त्यस्तै छ । खाएको सबै खानेकुरा पेटको शल्यक्रिया गरेको घाउबाट निस्कन थाल्यो, आन्द्रा बाहिर निस्कन थाले । उपचारको लागि फेरी जिल्ला अस्पताल लगियो तर अस्पतालले यहाँ उपचार सम्भव नहुने बतायो ।

गोरख थला पर्नुभयो । एक हप्ता अघिमात्रै घरबेटीले कोठा छोडेर जान आदेश दिए । आर्थिक अभाव, छाकटार्न धौँधौँ परेको बेला आमाले विरामी छोरा बोकेर शारदा नदि किनारको झोलुगें पुल निर त्रिपाल टाँगेर बसाई सर्नुभयो । ‘माघ महिनाको चिसो, बिरामी छोरो, खाने केही छैन्, उपचार गर्ने पैसा छैन्, अस्पतालले फिर्ता पठायो’ गहभरी आँसु बनाउदैँ आमा सिउकलीले भन्नुभयो ‘छोरो सन्चो भए, मागेरै भएपनि बस्थ्यौँ, हाम्रो बिचल्ली भयो ।’

आफुसँग घरजग्गा केही नभएको उहाँको भनाइ छ । ‘हाम्रो घरजग्गा केही छैन्, छोराको हालत यस्तो छ, उपचार गर्न पाए त छोरो बाँच्थ्यो कि, तर मसँग केही पैसा छैन्’ उहाँले थप्नुभयो ‘रातभरी यही त्रिपाल भित्र बस्छौँ, विरामी छोराको मुख हेरेर चित्त बुझाउँछु ।’

गारेखलाई उपचारका लागि काठमाण्डौँ पठाइयो

त्रिपालमुनी बिरामी छोरासँगै आमाले दिनरात काटेको थाहा पाएपछि जनप्रतिनिधि, समाजसेवि, मानवअधिकारकर्मी, पत्रकार लगाएतको सहयोगमा गोरखलाई शुक्रवार उपचारका लागि काठमाण्डौँ पठाइएको छ । काठमाण्डौँमा रहेको काठमाण्डौँ मेडिकल कजेलले निशुल्क उपचार गर्ने भएपछि जिल्ला अस्पताल सल्यानको एम्बुलेन्स मार्फत पठाईएको हो ।

‘मैले हिजो मात्रै थाहा पाए, अवस्था निकै दयनिय छ, काठमाण्डौँमा रहेको काठमाण्डौँ मेडिकल कजेलले निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएपछि जिल्ला अस्पताल सल्यानले पनि निशुल्क रुपमा काठमाण्डौँ सम्म जाने एम्बुलेन्सको व्यवस्था गर्दियो’ शारदा नगरपालिका–१२ का वडाअध्यक्ष सुरेन्द्र बुढाले भन्नुभयो ‘त्रिपालमुनीबाट उद्धार गरेर काठमाण्डौँ पठाएका छौँ, अव गोरखको निशुल्क उपचार हुन्छ ।’ उहाँले श्रीनगरका स्थानियबाट सहयोग रकम संकलन गरेर १० हजार ७ सय २० रुपैँया पनि उपलब्ध गराइएको बताउनुभयो ।

शारदा नगरपालिका– १ का वडाअध्यक्ष प्रदिप पाण्डे, अधिकारकर्मी रामचन्द्र रेग्मी लगाएत सरोकारवाला निकायको सहयोग र सहकार्यमा उपचारको लागि काठमाण्डौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित