सल्यान, १४ माघ ।
सल्यान जिल्ला खेदकूदमय बनेको छ । यही माघ २० गतेदेखी कपुरकोट गाउँपालिकाको रिममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुनेभएपनि अहिले जिल्लाका पालिकास्तरमा खेलकूदका गतिविधि सञ्चालन भैरहेका छन् । केही पालिकाले यसअघि कै पालिकाका स्तरका खेल गतिविधि सञ्चालन गरेपनि अधिकांश पालिकामा अहिले धमाधम खेलभैरहेका छन् । जिल्लाको त्रिबेणी गाउँपालिका, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा आइतवारबाट खेलकूद सञ्चालन भएका छन् ।
यस्तै कालिमाटी गाउँपालिकाले माघ १५ देखि १८ सम्म र कुमाख गाउँपालिकाले पनि यहि माघ १६ देखि १८ सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दैछ । अरु पालिकाले पनि पालिकास्तरका राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेका छन् । जिल्लास्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुनका लागि अहिले पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्डमार्फत खेलाडी छनौटको काम भैरहेको जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो ।
यसैक्रममा त्रिबेणी गाउँपालिकामा पाचौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता सुरु भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद बिकास शाखाको आयोजनामा वडा नम्बर ३ को रिखे खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । मंगलबार सम्म सञ्चालन हुने पाचौं अध्यक्ष कप प्रतियोगिता अन्तर्गत वडास्तरीय भलिबल प्रतियोगिता पनि हुने छ ।
प्रतियोगितामा प्रथम हुने वडाले ५० हजार, द्धितिय हुनेले ३० हजार, तृतिय हुने वडाले २० हजार र उत्कृष्ट खेलाडीले ५ हजार नगद सहित शिल्ड र प्रमाण पत्र पाउने प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनुभयो । यस्तै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा जम्मा ४२ स्वर्ण पदकका लागि भलिबल, कबड्डी, एथ्लेक्टिक्स र मार्सल आर्टका खेल सञ्चालन हुने छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले खेल क्षेत्रबाट नै देशलाई विश्वसामु चिनाउन सकिने बताउनुभयो । उहाँले खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ्य बनाउने मात्र नभई देशलाई नै अन्तराष्ट्रियस्तरमा चिनाउने काम गरेको बताउनुभयो । खेलक्षेत्रमा लागेका खेलाडीको बृद्धि विकास, खेलकूदका संरचना निर्माणसँगै खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, त्रिबेणी गाउँपालिकाका निवर्तमान अध्यक्ष मान बहादुर डाँगी लगाएतले बोल्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत गणेश आचार्यले गर्नुभएको थियो ।