सल्यान, १५ माघ ।
सल्यानको कपुरकोट गाउँपालिकाले पढ्दै सिक्दै र कमाउदै कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । एक माध्यमिक बिद्यालय एक सिप बिकास तालिमको आयोजना गरेर पढ्दै सिक्दै र कमाउदै कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । सोमबार कपुरकोटमा बिभिन्न चार बिधाका एक महिने तालिमको संयुक्त रुपमा उद्घाटन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनु भयो । बिभिन्न तालिमबाट बिद्यार्थीले सिकेका प्राबिधिक ज्ञानलाई गाउँपालिकाबाट आयोजनाका रुपमा अघि बढाइएका योजनाका काममा प्रयोगात्मक रोजगारीको रुपमा परिक्षण गरिने अध्यक्ष पुनको भनाई छ ।
तालिममा भाग लिने बिद्यार्थीहरु सहभागि भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटका चार माध्यमिक बिद्यालयमा गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको साझेदारीमा तालिमको आयोजना गरिएको जानकारी दिनु भयो । पछिल्लो समय सिपको अभाबका कारण धेरै नागरिकहरु बेरोजगार बनेको भन्दै बिद्यार्थीहरुलाई बिद्यालय तहबाटै ब्यबहारिक सिप सिकाउन लागेको उपाध्यक्ष भण्डारीको भनाई छ । उँहाले उर्जाशिल युवाहरुलाई हांसी खुसीको जीबनमा रुपान्तरण गर्न गाउँपालिकाले दिन लागेको तालिमले ठुलो सहयोग पुय्राउने बताउनु भयो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बिद्यार्थीको बिद्यालयको औपचारिक कक्षालाई हानी नपुय्राउने गरी बिद्यालयमा तालिमको समय ब्यबस्थापन गरिएको बताउनु भयो । वलीका अनुसार जीवन ज्योती नमुना मा.बि.रिममा हुने आधारभुत हाउस वाइरिङ तालिममा २१ जना,नेपाल राष्टिय मा.बि किमुचौरमा हुने आधारभुत पलम्बीङ तालिममा २० जना,कालिका मा.बि. कपुरकोटमा हुने आधारभुत पेन्टर तालिममा ४० जना र भवानी मा.बि.छाँयानाथमा हुने आधारभुत डकर्मी तालिममा १८ जना बिद्यार्थी सहभागि हुने छन् ।