सल्यानमा उद्यमी प्रोत्साहन : उत्कृष्ट दौरा, सुरुवाल, कोट सिलाउनेलाई ३० हजार पुरस्कार

नेपाली मौलिकता हराउदैँ गएको अवस्थामा दौरा, सुरुवाल, कोट सिलाउने सिपको परिक्षण गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको छ ।

सल्यान, १७ माघ ।

सल्यानमा सिप प्रतियोगिता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा जिल्लामा नै पहिलो पटक सिप प्रतियोगिता हुने भएको हो । जसअनुसार सिलाई कटाइ तालिम लिएका र उत्कृष्ट दौरा, सुरुवाल, कोट सिलाउनेलाई पुरस्कृत गरिने कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख श्रीकृष्ण देवकोटाले सिप प्रतियोगितामा सहभागि भइ उत्कृष्ट बन्नेलाई ३० हजार रुपैँया पुरस्कार दिइने बताउनुभयो ।

यस्तै द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार रुपैँया पुरस्कार दिइने छ । कार्यालयले यसअघि सिप प्रतियोगितामा भाग लिने इच्छुकको लागि १५ दिने सुचना जारी गरेको थियो । कोही सहभागि नभएपनि दोस्रोपटक माघ ९ गते १५ दिने सुचना जारी गरेको छ । यो विचमा पनि सिप प्रतियोगितामा भाग लिन कोही नआए यो कार्यक्रमको वजेट नै फ्रिज हुने कार्यालयले जनाएको छ । नेपाली मौलिकता हराउदैँ गएको अवस्थामा दौरा, सुरुवाल, कोट सिलाउने सिपको परिक्षण गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको छ ।

‘जिल्लामा बर्षेनी सिपमुलक तालिम अन्र्तगत सिलाई कटाइका तालिम सञ्चालन भैरहेका छन्, सिप सिक्ने र व्यवसाय सञ्चालन गर्नेको संख्या बढ्दो छ, जिल्लामा नै नेपाली पोशाक राम्रो सिलाउने व्यक्तिहरुलाई पुरस्कृत गर्ने कार्यक्रम छ, पहिलो चरणमा सुचना जारी गर्दा कोही आएनन्, फेरी जारी गरेका छौँ’ उहाँले भन्नुभयो ‘यो कार्यक्रम मार्फत राम्रो सिप भएका उद्यमीलाई पुरस्कृत गर्छौ ।’ अहिले पनि जिल्लाको सदरमुकाम खलंगासँगै श्रीनगर, थारमारे, कपुरकोट, सल्लीवजार लगाएतका क्षेत्रमा व्यवसायिक रुपमा टेलर्स सञ्चालन गर्नेको संख्या धेरै छ ।

‘साविक घरेलु तथा साना उद्योग विकास समिती, लघु उद्यम विकास कार्यक्रम र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट सिलाइ कटाइ सम्बन्धि तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि सहित माघ २३ गतेभित्र रु. १० को टिकट टाँस गरि कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ’ कार्यालयले जारी गरेको सुचनामा भनिएको छ । निवेदन दिने म्याद समाप्त भएको भोलीपल्ट सिप प्रतियोगिता सञ्चालन हुने मिति तय गरिने कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित