सल्यान, २३ माघ ।
सल्यान उद्योग वाणिज्य संघ सल्यानको १२ औँ बार्षिक साधारण सभा तथा नवौँ अधिवेशन सुरु भएको छ । सोमबार उद्योग वाणिज्य संघको सभाहलमा बार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गरिएको हो । साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगरका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैधले उद्योगको क्रान्तिविना आर्थिक क्रान्ति सम्भव नभएको बताउनुभएको छ ।
पछिल्लो समयमा नेपालका सबै उद्योगीहरु धरासायी बन्दै गएकाले उद्योगको विकास विना राज्यले आर्थिक विकास गर्न नसक्ने उहाँले बताउनुभएको हो । ‘५/६ बर्षअघि सम्म राज्यले नै अनुदान दिएर सञ्चालन भएका उद्यम अहिले बन्द अवस्थामा छन्, यसले राज्यलाई नोक्सानी गरिरहेको छ, पुरातन ढंगले अनुदान होइन, नयाँ ढंगबाट अनुदानका कार्यक्रम सञ्चालन गर्नपर्छ, हामीले पनि त्यही अनुसार पहल गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘उद्योगको क्रान्ति विना आर्थिक क्रान्ति हुन सक्दैन् ।’
उहाँले विदेशमा रहेका र नेपालमै पनि रोजगारीको अवसरबाट बञ्चित भएका नागरिकलाई रोजगारी सिर्जना गर्नेगरी उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो । ‘उद्योगको विकास भएन भने राज्यले कै राजस्वमा कमी आउँछ’ उहाँले भन्नुभयो ‘समृद्ध र सुखी नेपालीको नारा राज्यले अघि सारेको छ, त्यसलाई पुरा गर्नका लागि पनि उद्योगलाई दिगो सम्म टिकाउन आबश्यक छ ।’
अहिले पनि ठुला देखी साना उद्योगसम्म नै आर्थिक रुपमा अपारदर्शी र चुस्तदुरुस्त हिसावकिताव राख्ने परिपाटी नभएकाले आर्थिक व्यवस्थापन सम्बन्धि नयाँ जनशक्तिलाई तालिम दिएर सोही अनुसार व्यवस्थापन गर्ने सोच रहेको उहाँको भनाइ छ । उहाँले देशको विकास सँगै सामाजिक कार्यमा पनि आफुहरुले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यष पदम बहादुर शाहीले कर्णाली प्रदेश सरकारको आयोजनामा तत्कालै प्रदेशमा लगानी सम्मेलन गरिने भएकाले उत्साहित हुन सबै उद्यगी व्यवसायीमा आग्रह गर्नुभयो । स्वदेशी तथा विदेशी लगानीकर्ता भिञ्याउने सरकारको योजना रहेकाले सोही अनुसारका कार्ययोजना तयार पार्न उहाँले आग्रह गर्नुभयो ।
सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगाएतले बोल्दै उद्योगलाई दिगो रुपमा टिकाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
सल्यान उद्योग बाणिज्य संंघका बरिष्ठ उपाध्यक्ष विरेन्द्र कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव मोहन सारुले गर्नुभएको थियो । बार्षिक साधारणसभाको बन्दसत्र भने केही दिनपछि आह्वान गरिएको छ ।