सल्यान, २६ माघ ।
बाह्रै महिना सहज रुपमा गाडी सञ्चालन गर्नेगरी सल्यानको छत्रेश्वरी गाउँपालिकाले सडक निर्माण सुरु गरेको छ । एक करोड ६० लाख रुपैया लागतमा शंखमुल जयचौर खर्सुबास सडक खण्ड स्तरोन्नति सुरु भएको हो । उक्त सडकको शुक्रबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले निर्माण कम्पनी र प्राविधक टोलिलाई गुणस्तरिय कामका लागि निर्देशन दिनुभयो ।
सडकले दूरी छोट्याउने र गाँउको उत्पादनलाई बजारसम्म पुर्याउँने, थातथालो छोड्नेको संख्यामा कमि ल्याउने तथा नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता दिलाउने भएकाले गुणस्तरिय सडक निर्माणमा उहाँको जोड छ । शंखमुल जयचौर खर्सुबास सडक खण्डमा नाला संगै आवश्यक ठाउँमा रिटेनिङ वाल निर्माण, ह्युम पाईप तथा ग्याविन जाली, मोड सुधार लगाएतका काम हुनेगरी स्तरोन्नति कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ ।
यस योजनाको लागि छत्रेश्वरी गाउँपालिकाको ८० लाख र संघीय समपुरक अनुदानको ८० लाख रुपैया रहेको छ । तर उक्त रकम बराबरको काम हुनेगरी जिमजियांग कन्ट्रक्शन सेवाले यो सडक निर्माणका लागि ७३ लाख २२ हजार ८४ रुपैयामा सम्झौता गरेको छ । नाला नहुँदा वर्षायाममा सडक हिलाम्मे हुने, खाल्डाखुल्डीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । सडक स्तरउन्नतीसंगै गाउँमा उत्पादित वस्तु बजार सम्म पुर्याउन तथा आवश्यक विभिन्न सामग्री गाउँसम्म ल्याउन समेत सहज हुनेछ ।
सडक निर्माण कार्यको शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य सहितका जनप्रतिनिधि, कर्मचारी, निर्माण कम्पनिका प्रतिनिधि, स्थानिय उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।