छत्रेश्वरी गाउँपालिका : भिर फोडेर चट्टान छिचोल्दै बिकटमा सडक

छत्रेश्वरी गाउँपालिकाले करिव ४५ दिन सम्म आफ्नै स्काभेटर प्रयोग गरेर वडा नम्बर ४ कोजटिल भुगोलमा झंखानी आकाशी हुँदै त्रिवेणी जोड्ने सडक निर्माण गरेको हो । सडक निर्माण संगै अक्कासी, झंखानी, वेतीनी, भेरिखोर, कालुपहरका स्थानियहरु हर्षित भएका छन् ।


सल्यान, ४ फागुन ।
भीर फोडेर चट्टान छिचोल्दै सल्यान छत्रेश्वरीको दुर्गम बस्तीमा मोटरबाटो पुगेको छ । छत्रेश्वरी गाउँपालिकाले करिव ४५ दिन सम्म आफ्नै स्काभेटर प्रयोग गरेर वडा नम्बर ४ कोजटिल भुगोलमा झंखानी आकाशी हुँदै त्रिवेणी जोड्ने सडक निर्माण गरेको हो । सडक निर्माण संगै अक्कासी, झंखानी, वेतीनी, भेरिखोर, कालुपहरका स्थानियहरु हर्षित भएका छन् ।

नागरिकको चुलोको सरकारको रुपमा रहेको स्थानिय सरकारले जनअपेक्षालाई पुरा गर्न सकेकोमा सन्तुष्टी मिलेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले आफुहरुले गाउंपालिकाका ७ वटै वडामा बाटो, खानेपानी, सिंचाई, विद्युत लगाएतका काम गरिरहेको बताउनुभयो । तर विकट र दुर्गम भएकाले ४ नम्बर वडालाई सबै जनप्रतिनिधीले प्राथमिकता दिएको उहाँको भनाई छ ।

गत मंसिर १० गते देखी माघ ९ गते सम्म सडक निर्माणको काम भएको थियो । अन्य खर्च वाहेक इन्धन मात्रै ६ हजार ६०० लिटर खर्च भएको थियो भने प्राविधिक मुल्यांकन अनुसार यस सडक निर्माणका लागि ३३ लाख ७८ हजार ९३१ रुपैयाँ बढी लगानी भएको पुर्वाधार बिकास शाखाले जनाएको छ ।

करिव ४५ दिनको लगातारको कडा मिहेनत पश्चात गाउँपालिकाले जटिल, विकट भुगोलमा सडक पुर्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले जानकारी दिनुभयो । चुच्चेपोखरा देखी अक्कासी र अक्कासीदेखी भेरीखोरसम्म महत्वपूर्ण काम भएको उहाँको भनाइ छ ।

उमेरले ७८ वर्ष पुगिसकेका अक्कासीका दुर्गालाल खत्रीले बल्ल आफ्नो गाउँठाउँमा उज्यालो पसेको बताउनुभयो । अक्कासीमा अहिले उज्यालो पस्यो, गाउँपालिकाले ठूलो उपलब्धी ल्याइदिएको छ, भिर हेर्दा खेरी त बाटो आउने जस्तो थिएन, स्थानीय सरकारको जोडले सडक आयो, अति खुसी छौँ उहाँले भन्नुभयो ।

डर लाग्दो भिर र विभिन्न खोँच तथा लेकहरु छिचोल्दै यी बस्तीहरुमा कस्टप्रद यात्राको साथ पुग्नुपर्ने अवस्था केहि दिन अघि सम्म थियो । तर अहिले उक्त क्षेत्रमा मोटरबाटो पुगेपछि स्थानीयहरु दंग छन् । विकट बस्ती, एक घरबाट अर्काे घरमा पुग्न पनि घण्टौ लाग्ने आफ्नो गाउँ वस्तीमा सडक आइपुगेपछि स्थानिय खुसी भएका हुन् ।

वस्ती र घरधुरी थोरै भए पनि आफ्नो क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण भएको भन्दै स्थानीय जेष्ठ नागरिक फौद बहादुर खत्रीले आफुहरुको समस्या बुझ्ने, सुखदुखमा साथ दिने स्थानीय सरकार रहेछ भन्ने कुराको अनुभुती भएको बताउनुभयो । दुरिको हिसाबले करिव १६०० मिटर मात्र सडक निर्माण भएपनि जटिल क्षेत्रमा महत्वपूर्ण काम भएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित