स्वास्थ्य सेवा दिवसमा फोहोर टिप्ने खेल : धेरै फोहोर संकलन गर्नेलाई पुरस्कार

प्रत्येक बर्ष विभिन्न दिवसहरु मनाइन्छ । ती दिवस नाम मात्रैका दिवस हुन्छन् । सम्बन्धित निकायका केही व्यक्तिको उपस्थितिमा र्याली, प्रभातफेरी वा औपचारिक कार्यक्रम मात्रै गरेर दिवस मनाइएको पाइन्छ । 'दक्षजनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा : निरोगी नेपाल निर्माणमा हाम्रो टेवा' भन्ने नाराका साथ स्वास्थ्य सेवा कार्यालय सल्यानले भने फरक कार्यक्रमको साथ स्वास्थ्य सेवा दिवस मनाएको छ ।

 

सल्यान, १५ फागुन ।
प्रत्येक बर्ष विभिन्न दिवसहरु मनाइन्छ । ती दिवस नाम मात्रैका दिवस हुन्छन् । सम्बन्धित निकायका केही व्यक्तिको उपस्थितिमा र्याली, प्रभातफेरी वा औपचारिक कार्यक्रम मात्रै गरेर दिवस मनाइएको पाइन्छ । ‘दक्षजनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा : निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा कार्यालय सल्यानले भने फरक कार्यक्रमको साथ स्वास्थ्य सेवा दिवस मनाएको छ ।

स्वास्थ्य सेवा दिवसका अवसरमा कार्यालयले मंगलबार फोहोर टिप्ने प्रतियोगिता राख्यो । स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालमा कार्यरत रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नै फोहोर संकलन गर्ने प्रतियोगितामा होमिए । प्रतियोगितामा एक दर्जन बढी सहभागि थिए । स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालको फोहोर संकलन गर्ने र डम्पिङ साइटमा पठाउने काम निरन्तर भैरहेको छ ।

तर फोहोर गर्नु हुदैँन, जथाभावि फोहोर फाल्नुहुदैन्, फोहोरले वातावरणमा असर गर्नुका साथै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर गर्ने भएकाले सफा र स्वच्छ वातावरण निर्माणमा सहभागि होऔँ भन्ने सन्देश प्रवाहका लागि फोहोर टिप्ने प्रतियोगिता राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. अभिषेक सिंहले जानकारी दिनुभयो ।

उहाँले दिवसका अवसरमा केही रचनात्मक कार्य गर्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । ‘जनस्वास्थ्य र अस्पतालबाट नियमित रुपमा फोहोर संकलन गर्ने र डम्पिङ क्षेत्रमा पठाउने काम भैरहेको छ, फोहोर हामी सबैको साझा समस्या हो, हामीबाट नै फोहोर संकलन गर्नुपर्छ भन्ने हेतुले आज प्रतियोगिता राख्यौँ’ उहाँले थप्नुभयो ‘हेर्दा यस वरिपरिको क्षेत्रमा खासै फोहोर देखिदैन्थ्यो, तर आधा घण्टाको अवधिमा ७२ पोका फोहोर संकलन भयो ।’

यो प्रतियोगितालाई सिकाइएको रुपमा लिएको र अवका दिनमा यस्ता खालका रचनात्मक कार्यलाई निरन्तर सञ्चालन गरिने उहाँको भनाइ छ । जस अनुसार ३० मिनेटको समयमा सबैभन्दा धेरै फोहोर संकलन गर्नेलाई प्रथम, द्धितिय र तृतिय घोषणा गर्दै नगद पुरस्कार वितरण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।

‘यो पटक अलि धेरै नै फोहोर संकलन भएको छ, अवका दिनमा यस्ता रचनात्मक कार्य गर्दै जानेछौँ, कुनै व्यक्तिलाई फोहोर संकलन गर भन्नुभन्दा पुरस्कार सहित प्रतियोगिता राख्यो भने फोहोर संकलन पनि हुने, सामुहिक कार्य पनि हुने, समाजमा सकारात्मक सन्देश पनि जाने भएकाले यसलाई निरन्तर अघि बढाउँछौँ’ उहाँले भन्नुभयो ।

दिवसका अवसरमा व्याडमिण्टन लगाएतका विभिन्न प्रतियोगिता पनि सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस