अव ‘क्युआर स्क्यान’ बाटै प्रहरीमा उजुरी दिन सकिने

‘विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न क्युआर कोडको प्रयोग गरिएको हो’, प्रहरी प्रमुख कार्कीले भन्नुभयो ‘क्युआरबाट प्राप्त उजुरी कार्यान्वयन भए/नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।’ यहाँका नागरिकले जुनसुकै ठाउँबाट पनि उजुरी तथा गुनासो दिन सक्ने उहाँको भनाइ छ ।

सल्यान, १८ फागुन ।

जिल्ला प्रहरी कार्यालय सल्यानले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ । परम्परागत उजुरी प्रक्रियालाई अझ प्रभावकारी बनाउन डिजिटल जमानामा डिजिटल तरिकाले उजुरी दिन सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । योसँगै यहाँका स्थानीयले गुनासो र उजुरीका लागी प्रहरी कार्यालय धाउनु पर्ने बाधयताको अन्त्य भएको छ ।

अहिले जिल्लाभर ‘क्युआर कोड’ बारेमा जानकारी दिने कार्यको थालनी गरिएको छ । परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

‘विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न क्युआर कोडको प्रयोग गरिएको हो’, प्रहरी प्रमुख कार्कीले भन्नुभयो ‘क्युआरबाट प्राप्त उजुरी कार्यान्वयन भए/नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।’ यहाँका नागरिकले जुनसुकै ठाउँबाट पनि उजुरी तथा गुनासो दिन सक्ने उहाँको भनाइ छ ।

‘शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि स्थानीयले जहाँबाट पनि प्रविधिमार्फत उजुरी दिन सक्नेछन्’ उहाँले भन्नुभयो ‘केही अति दर्ता गर्नैपर्ने उजुरी बाहेक अरु सबै उजुरी र गुणासो यसैबाट लिन्छौँ, दिनभर प्राप्त उजुरी वा गुणासोको प्रत्येक दिन बेलुका ६ वजे फोन मार्फत सम्बन्धित व्यक्तिलाई उजुरी वा गुणासो उपर भैरहेको कामको बारेमा जानकारी दिन्छौँ ।’

अब यहाँका स्थानीयले गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनु पर्ने छैन् । उजुरीकर्ताको नाम गोप्य राखिने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस