सल्यान, २१ फागुन ।
सल्यानमा आत्महत्या रोकथाम सम्बन्धि सचेतनामूलक विशेष अभियानको सुरुवात गरिएको छ । पछिल्लो समय बढ्दै गएको आत्महत्यालाई न्यूनिकरणका लागि थालिएको अभियानको सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी नायव महानिरिक्षक लालमणि आचार्यले उद्घाटन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना र शारदा नगरपालिकाको सहकार्यमा अभियानको थालनी गरिएको हो ।
प्रहरीका अनुसार जिल्लामा आत्महत्याका घटनामा उल्लेख्य कमी आउन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक नवीन कार्कीले चालुआर्थिक बर्षको हालसम्म जिल्लामा २९ जनाले आत्महत्या गरेको बताउनुभयो । जसमा पुरुष १२ जना, महिला ९ जना, बालक २ जना र बालिका ६ जना रहेका छन् । उहाँले जिल्लामा भएका आत्महत्याका घटना मध्ये ७५ प्रतिशत झुण्डिएर र २५ प्रतिशत विष सेवन गरेर हुने गरेको बताउनुभयो ।
प्रहरीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७९/0८० मा ४५ जना, आर्थिक बर्ष २०७८/०७९ मा ५३ जना र आर्थिक बर्ष २०७७/०७८ मा ७१ जनाले आत्महत्या गरेका छन् । ‘जिल्लामा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी देखियो, त्रिबर्षिय तथ्यांक हेर्दा जिल्लामा १ सय २७ जना आत्महत्या प्रयासबाट बाँच्न सफल भएका छन्’ उहाँले भन्नुभयो ‘आशा जगाउन र जीवन बचाउनको लागि यो अभियानको सुरुवात गरेका छौँ ।’ यसअभियानलाई जिल्लाका सबै वडासम्म लगिने उहाँको भनाइ छ ।
अभियानको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी नायव महानिरिक्षक लालमणि आचार्यले समाजमा अझै पनि आत्महत्या रोकथाम सम्भव छ र भन्ने गरिएकोमा यो भ्रमलाई चिर्ण सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले हरेक नागरिकलाई सुसुचित गर्ने उद्धेश्यका साथ थालनी गरिएको यस अभियान महत्वपुर्ण भएको बताउनुभयो ।
सानो लापरवाहीका कारण आज कुनै व्यक्तिले आफ्नो अमुल्य जीवनको समाप्त गर्ने जस्ता कार्य भैरहेको भन्दै उहाँले भन्नुभयो ‘आत्महत्याले आफ्नो भौतिक शरिरमात्र समाप्त नभइ रंगिन र अमुल्य संंसार देख्न र उपयोग गर्नबाट बञ्चित हुन्छ, आत्महत्याबाट मृत्यु हुने व्यक्तिले आफुमात्रै नभएर सिंगो परिवार, समाज, सिंगो राष्ट्रलाई समेत प्रत्यक्ष र अप्रत्यक्ष असर पारिरहेको हुन्छ ।’
आत्महत्या समस्याको समाधान नभएको र बाँचेमात्रै सुन्दर संसार देख्न पाइने उहाँको भनाइ छ । उहाँले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नसके मात्रै आत्महत्यालाई रोकथाम गर्न सकिने बताउनुभयो । प्रहरी नायव महानिरिक्षक आचार्यले भन्नुभयो ‘कर्णाली प्रदेशमा सुर्खेतपछि सल्यानमा धेरै आत्महत्याका घटना हुने गरेको पाइएको छ, यसर्थ सबै निकायको साझा पहल र प्रयासबाट मात्रै आत्महत्यालाई कम गर्न सकिन्छ, यसमा सबैले हातेमालो गरौँ ।’
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावलले आत्महत्या समाजमा विकराल बन्दै गएकाले सबैटोल र बस्तीसम्म सचेतनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या भएकाले विभिन्न निकायको सहयोग र साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले आत्महत्यालाई रोकथाम गर्न प्रहरी सँगै विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले मानसिक स्वास्थ्यका क्षेत्रमा पालिकाले लगानी गरेको र सचेतनाका कार्यक्रम सञ्चालन गर्दा आत्महत्यामा कमी आउनसक्ने बताउनुभयो ।
मानसिक स्वास्थ्य स्वावलम्बन समूह सल्यानकी अध्यक्ष सुशिला हमालले व्यक्ति, परिवार र समाज सबैको साथ र सहयोग पाएमात्रै आत्महत्याको प्रयासबाट बाँचेकाहरुलाई जीवननिर्वाह गर्न सहज हुने बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय सल्यानले तयार पारेको आत्महत्या सम्बन्धि डकुमेन्ट्रि सार्वजनिक गरिएको छ । कार्यक्रमको सहजीकरण प्रहरी नायव निरिक्षक धन बहादुर नेपालीले गर्नुभएको थियो ।